आइक्यानको अध्यक्षमा युद्धराज ओली निर्वाचित

डिसी नेपाल
२ असोज २०७८ १५:१८

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । ओलीलाई महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले ओलीले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवद्र्धनको काम गर्दै आएको छ । परिषद्का उपाध्यक्ष तथा अन्य सदस्यले पनि सपथ लिएका थिए । कूल १७ सदस्यीय परिषद्मा हाल १४ सदस्य निर्वाचित भइसकेका छन् भने महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले तीन सदस्य मनोनीत गर्न बाँकी छ ।

नवौँ परिषद्को पहिलो कार्यकालका लागि उपाध्यक्षमा भाष्करसिंह लाला निर्वाचित भएका छन् भने सदस्यमा चार्टर्ड एकाउन्टेन्टको तर्फबाट सन्तोष काफ्ले, क्षेत्रगोपाल प्रधान, सुजनकुमार काफ्ले, सुरेन्द्र श्रेष्ठ, रामचन्द्र खनाल, सुजन श्रेष्ठ, पियुष आनन्द र प्रविणकुमार झा निर्वाचित भएका छन् । अध्यक्ष र उपाध्यक्ष पनि यही वर्गबाट परिषद् सदस्य भएका थिए ।

आइक्यान ऐनअनुसार परिषद् सदस्यबाट अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन्छ । चार परिषद् सदस्य हुने दर्तावाला लेखा परीक्षकमध्येबाट पोषराज नेपाल, भोलानाथ पाठक, शङ्कर ज्ञवाली र केशबहादुर केसी पनि सदस्यमा निर्वाचित भएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा संरचनागत परिवर्तनको आवश्यकता भएकाले सोहीअनुरुप सरकारले काम गर्न लागेको बताए । यसका लागि आइक्यान जस्तो संस्थाले संस्थागतरूपमै पनि सहयोग गर्नसक्ने तथा दक्ष जनशक्तिका माध्यमबाट सरकारको योजनालाई सहयोग पुर्याउने उनको भनाई थियो ।

महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले नयाँ नेतृत्वले लेखा व्यवसायलाई अझै मर्यादित र प्रतिस्पर्धी बनाउनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष ओलीले पछिल्लो समय सूचना प्रविधिको उपयोगबाट लेखापरीक्षण व्यवसायमा व्यापक परिवर्तन आएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

पूर्व अध्यक्ष मदनकृष्ण श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको आइक्यानले कोरोना महामारीकै बेला पेशागत हकहितको सुरक्षा र प्रवद्र्धनलगायत काम गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *