बोर्डले ट्रेकिङ गाइडहरूलाई वैकल्पिक व्यवसाय गर्न दिन लागेको ऋणमा निटोगको आपत्ति

फुर्पा शेर्पा
६ असोज २०७८ ८:४२

काठमाडौं । नेपाल पर्यटन बोर्डले ट्रेकिङ गाइडहरूलाई वैकल्पिक व्यवसाय संचालन गरी आत्मनिर्भर बन्न सहुलियत दरमा दिन लागेको ऋणमा विभेद भएको भन्दै नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)ले आपत्ति जनाएको छ। बोर्डले लाइसेन्स प्राप्त गाइडहरुलाई मात्रै दिन लागेको ऋण प्रति निटोले आपत्ति जनाएको हो।

निटोगका अध्यक्ष राम काजी प्रयासले भने, ‘लाइसेन्स भएका गाइडहरुले मात्र ट्रेकिङ चल्दैन, कुनैपनि ट्रेकिङ सम्पन्न गर्न कुक, सहयोगी र भरियाहरुको ठूलो देन हुन्छ। एउटा टिममा आम पर्यटन श्रमिकहरुको योगदान हुन्छ । आम श्रमिकहरुको योगदानको अपमान गर्दै निश्चित श्रमिकहरुलाई मात्र ऋण वितरण गरि श्रमिकहरुकै बीचमा विवाद ल्याउन खोजिएको छ ।’

यस्तो विवाद सिर्जना गर्ने श्रमिक प्रतिनिधि नै भएको आरोप लगाउँदै अध्यक्ष प्रयासले पर्यटन क्षेत्रका सबै श्रमिकलाई ऋणको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

उनले भने, ‘अहिले गरिएको व्यवस्था सुधार गरेर आम पर्यटन श्रमिकहरुलाई ऋण उपलब्ध गर्ने व्यवस्था गर्नु पर्दछ । यदि उक्त व्यवस्था नसुधारी निश्चित श्रमिकहरुलाई मात्र ऋण वितरण गर्न खोजिए तुरुन्तै आम पर्यटन श्रमिकहरु आन्दोलनमा जान बाध्य हुने छ ।’

पर्यटन बोर्डले कोरोना महामारीले बेरोजगार बनेका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण लिन ७ दिनको समय तोकी आवेदन खुल्ला गरेको थियो । सो आवेदन फारम भर्ने अन्तिम मिति आज (बुधबार)सम्म रहेको छ ।

बोर्डले २०७१ चैत्र ५ गते टिम्स कार्ड खरिद तथा बिक्रीको आम्दानीको १० प्रतिशत रकमको श्रमिक कल्याणकारी कोष निर्माण गरेको थियो । उक्त कोषमा रहेको कूल रकमको ८० प्रतिशत रकम कृषि विकास बैंकमा धितो राखि ट्रेकिङ कम्पनीमा कार्यरत रहेकै बेला कोरोना महामारीका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरूलाई वैकल्पिक व्यवसाय संचालन गरी आत्मनिर्भर बन्न सहुलियत दरमा ऋण प्रदान गर्न लागेको हो ।

पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालय पर्यटन बोर्डले गाइडहरुले ऋण लिनुपूर्व पूरा गर्नुपर्ने केहि शर्तहरु तोकेको छ ।

शर्त अनुसार ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने, कोभिड १९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने, गाइडले संचालन गर्ने वैकल्पिक व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने छ ।

ट्रेकिङ गाइडले ऋण पाउन भर्नुपर्ने विवरणहरू यस्ता छनः

ऋण लिनुभन्दा अगाडि गाइडले आफ्नो नाम, ट्रेकिङ गाइड लाइसेन्स नम्बर, ट्रेकिङ गाइड लाइसेन्स लिएको मिति (प्रतिलिपि संलग्न गर्नुपर्ने), ट्रेकिङ गाइड कार्य शुरु गरेको मिति वर्ष र महिना, ट्रेकिङ गाइड कार्यमा संलग्न रहेको अन्तिम मिति वर्ष र महिना आदि विवरण भर्नुुपर्छ । त्यस्तै, कोभिड १९ महामारीपूर्व कम्तीमा ३ वर्ष कायर्रत रहेको ट्रेकिङ कम्पनीको नाम, गाइडले नागरिकता लिएको जिल्ला, गाइडले संचालन गर्न चाहेको व्यवसायको किसिम मागिएको छ ।

ऋण लिएर होमस्टे, रेष्टुरेन्ट, कृषि तथा पशुपालन गर्न पाइने पनि उल्लेख गरिएको छ । त्यसरी व्यवसाय संचालन गर्न १ लाखदेखि ५ लाख रुपैयाँसम्म दिइने जनाइएको छ ।

उक्त ऋण लिनु पूर्व गाइडहरुले ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने, कोभिड १९ महामारी पूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने, गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने जस्ता शर्तहरु पूरा गर्नुपर्ने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *