इथियोपियाले हस्तक्षेपको आरोपमा राष्ट्रसंघका ७ शीर्ष अधिकारीलाई निष्काशनको आदेश दियो

डिसी नेपाल
१६ असोज २०७८ १०:४०

काठमाडौं। अफ्रिकी देश इथियोपियाले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघका शीर्ष अधिकारीलाई देशनिकाला गर्ने आदेश दिएको छ । इथियोपियाको सरकारले संयुक्त राष्ट्रसंघका ७ जना अधिकारीहरुलाई देशबाट निस्किन आदेश दिएको हो ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता कार्यक्रमका लागि इथियोपिया गएका कार्यकर्ताहरुले केही दिनयता युद्धग्रस्त टिग्रे क्षेत्रमा आफूहरुको पहुँच सीमित पारिएको भन्दै आवाज उठाइरहेका थिए । यससँगै इथियोपिया सरकारले बिहीबार यस्तो आदेश दिएको हो । टिग्रे क्षेत्र विगत ११ महिनादेखि युद्धग्रस्त छ ।

इथियोपियाले निष्काशनको आदेश दिएका ७ अधिकारीहरुमा संयुक्त राष्ट्रसंघीय बाल सहायता कोष (युनिसेफ)का अधिकारीहरु र राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी कार्यालय (युएनओसीएचए)का अधिकारीहरु छन् । यी अधिकारीहरुलाई ‘पर्सना नन ग्राटा’ अर्थात अस्वीकार्य व्यक्ति घोषणा गरिएको छ । विदेश मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा उनीहरुलाई देश छाड्न ७२ घण्टाको समय दिइएको छ ।

निष्काशित अधिकारीहरुमा ओसीएचएका डेप्युटी संयोजक ग्रान्ट लेटी र इथियोपियाका लागि युनिसेफका प्रतिनिधि एडेले खोदर पनि छन् । यसबाहेक ओसीएचएका क्वेसी सान्सुलोट्टे, सइद महमुद हेरसी, घाडा एल्थाहिर मिदावी, मेर्सी भिगोदा र संयुत्तः राष्ट्रसंघीय मानवअधिकार हाइ कमिश्नर कार्यालयकी सोनी ओनिग्बुलालाई निष्काशन गरिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यो निष्काशनले आफूलाई झट्का लागेको बताएका छन् । एक प्रेस ब्रिफिङमा महासभिव गुटेर्रेसलाई उदृत गर्दै राष्ट्रसंघकी प्रवक्ता स्टेफनी ट्रेम्बलेले भनिन् ‘हामी यस विषयमा इथियोपिया सरकारसँग छलफल गरिरहेका छौं ताकि राष्ट्रसंघले आफ्नो महत्वपूर्ण काम निरन्तर अगाडि बढाउन सकोस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *