बेलायतमा ड्राइभरको अभावले पेट्रोलको हाहाकार भएपछि अब सेनाले आपूर्ति गर्ने

डिसी नेपाल
१६ असोज २०७८ १२:३४

काठमाडौं। बेलायतमा पेट्रोलियम पदार्थको आपूर्तिको जिम्मा सेनाले पाएको छ । ठूला मालवाहक सवारी चलाउने ड्राइभरको अभावका कारण बेलायतमा पेट्रोलियम पदार्थको अभाव भएपछि सरकारले आपूर्तिको जिम्मा सेनालाई दिएको हो । अब सोमबारदेखि सेनाले त्यहाँका पेट्रोल स्टेशनहरुमा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने बीबीसीले जनाएको छ

अहिले बेलायतमा करिब २ तिहाइ पेट्रोल पम्पहरुमा इन्धन छैन । पम्पबाहिर सवारीको लामो लाइन लाग्ने गरेको छ । यतिमात्र होइन पेट्रोलियम पदार्थ र ठूला सवारी चालक दुवैको अभाव हुँदा कैयौं स्टोरहरुमा खाद्यान्नको पनि अभाव भइरहेको छ । धेरै डिपार्टमेन्टल स्टोरमा पर्याप्त सामान छैन । सामान भएका स्टोरमा पनि मानिसहरुले पछि अभाव हुन सक्ने आशंकामा आवश्यकताभन्दा धेरै खरिद गरिरहेका छन् ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पछिल्लो एक वर्षमा बेलायतमा ठूला वाहन चालकको संख्या ७० हजारले घटेको छ । ड्राइभरहरुको कमी अब त्यहाँ संकटको स्तरमै पुगिसकेको छ । अहिले बेलायतमा माग र आपूर्तिको चक्रलाई सन्तुलिन राख्नको लागि थप १ लाख ड्राइभरहरुको आवश्यकता छ । लामो लकडाउन र यात्रा प्रतिबन्धका कारण विदेशबाट रोजगारीका लागि बेलायत पुगेका धेरै ड्राइभरहरुले बेलायत छोडेका छन् ।

जानकारी अनुसार २०२० मा ड्राइभिङ टेस्टमा पनि निकै कमी आयो । यसले पनि भारी वाहनका ड्राइभरको संख्या ३० हजारले कम भयो । युरोपियन युनियनका देशका २० हजार ड्राइभरहरु पनि ब्रेक्जिटको क्रममा बेलायत छोडेर गएका थिए र उनीहरुमध्ये धेरैजसो ड्राइभरहरु अझैसम्म फर्किएका छैनन् ।

अहिले संकटको स्थिति आएपछि बेलायत सरकारले ठूला वाहन चलाउने ५ हजार ड्राइभरलाई ३ महिनाको अस्थायी भिसामा बेलायत बोलाउँदैछ । यसबाहेक सरकारले भारी वाहन चलाउने लाइसेन्स लिएकाहरुलाई करिब १० लाख पत्र पठाएको छ ताकि जसले यो काम छोडेका छन् उनीहरुमध्ये केही भए पनि यो काममा फर्किउन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *