नेपाल भारत सीमा क्षेत्रमा भीषण हिंसा, अहिलेसम्म ८ जनाको ज्यान गइसक्यो

डिसी नेपाल
१८ असोज २०७८ १०:४४

काठमाडौं। नेपाल भारत सीमा क्षेत्रमा भीषण हिंसा भएको छ । कैलाली जिल्लाको टिकापुर बजारको ठिक पारिपट्टी तिकुनियामा भएको हिंसा र आगजनीमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । यसरी मारिनेमा ४ जना किसान छन् । मारिने अन्यमध्ये २ जना भारतीय जनता पार्टीका कार्यकर्ता र २ जना ड्राइभर छन् । १२ देखि १५ जना घाइते छन् ।

नेपाल–भारत सीमा नजिकै हिंसा भइरहेको भए पनि यसको प्रभाव अहिलेसम्म नेपालमा नपरेको र यसले नेपालमा खतरा निम्त्याउने जोखिम अहिलेसम्म नदेखिएको कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताएका छन् । ‘अहिलेसम्म नेपालमा यसले अतरा उत्पन्न हुन सक्ने स्थिति देखिएको छैन तर यस विषयमा म निरन्तर सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीसँग सम्पर्कमा छु’ रिजालले डिसीनेपालसँग भने ‘हामीले स्थितिको निगरानी गरिरहेका छौं । जोखिम देखिए आवश्यक कदम चालिनेछ ।

केहो तिकुनिया हिंसाको घटनाक्रम ?

बीबीसी हिन्दीका अनुसार आइतबार उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्य पूर्वनिर्धारित कार्यक्रमअनुसार लखिमपुर खिरीमा थिए । उनले वंदन गार्डेनका सरकारी योजनाको शिलान्यास गर्ने कार्यक्रम थियो । उनी हेलिकप्टरबाट जाने पूर्वनिर्धारित कार्यक्रम भए पनि शनिबार बिहान प्रोटोकल बदलेर सडकबाट आएका थिए । संयुक्त किसान मोर्चाले उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्रीको कार्यक्रमको विरोध गर्न किसानहरुलाई आह्वान गरेको थियो ।

दिउँसो १ बजेतिर उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्री नेपालसँग सीमामा रहेको वनवीरपुरका लागि हिँडेका थिए । यस क्रममा नेपाल सीमाबाट मात्रै ४ किलोमिटर उतापट्टि रहेको तिकुनियामा एक स्कुलमा कुश्ती प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्ने कार्यक्रम थियो । अजय मिश्र केन्द्रीय गृह राज्यमन्त्री बनेपछि उनको सम्मानमा आयोजना गरिएको कार्यक्रम धेरै भव्य थियो त्यसैले उपमुख्यमन्त्री प्रमुख अतिथि थिए ।

केही दिन पहिले लखीमपुरको सम्पूर्णनगरमा मन्त्री अजय मिश्रले किसानहरुलाई धम्क्याएका थिए । उनले कालो झण्डा देखाउने किसानहरुलाई चेतावनी दिँदै भनेका थिए ‘म केवल मन्त्री होइन, सांसद वा विधायक होइन । जसलाई म सांसद वा विधायक बन्नुभन्दा पहिले मेरो विषयमा थाहा छ उनीहरुलाई यो पनि थाहा होला कि म कुनै चुनौतीसँग भाग्दिन । र, जुन दिन मैले त्यो चुनौतीलाई स्वीकार गरेर काम गर्छु त्यस दिन पालिया होइन लखीमपुर छोड्नुपर्छ, यो याद राख्नू ।’ मिश्रको यो भनाइका कारण किसानहरु आक्रोशित थिए ।

आइतबार बिहानदेखि सयौं किसानहरु तिकुनियाको महाराजा अग्रसेन इन्टर कलेजमा बनेको हेलिप्याड घेराउ गरेर कालो झण्डासहित विरोध गरिरहेका थिए । मन्त्री हेलिकप्टरबाट नभइ सडकबाट आउने खबर पाएपछि किसानहरु तिकुनियाबाट नेपाल भारत सीमाको बनवीरपुर आउने बाटो गाडी राखेर रोकेर बसे । त्यही बेला तीन गाडीहरु तिकुनिया पुगे । किसानहरुका अनुसार यी गाडीहरु किसानहरुको भिडमाथि नै दौडाइयो जहाँ गाडीले किचिएर ४ जना किसान मारिए । किसानहरुका अनुसार गाडीमा मन्त्रीका छोरा आशिष मिश्र पनि थिए र उनले एक किसानलाई गोली समेत हाने ।

अजय मिश्राका छोरा आशिष मिश्राले भने आरोप अस्वीकार गर्दै आफूलाई निर्दोष प्रमाणित गर्नको लागि प्रमाण पेश गर्ने बताएका छन् । भाइरल भिडियोमा आक्रोशित भीडले एउटा जीपमा लाठी बर्साइरहेको र गाडिबाट बाहिर निस्किएका २ जनामाथि पनि लाठी बर्साइरहेको देख्न सकिन्छ । मन्त्रीका छोरा आशिष मिश्रले भने आफ्नै कार्यकर्ता मारिएको बताउँदै आफूले किसानहरुको भीडमा गाडी दौडाएको कुरा झुटो भएको दावी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *