जनकपुर बमकाण्डको मुख्य योजनाकार सञ्जय साहकाे कैद सजाय घटाइयाे
काठमाडौं। जन्मकैदको सजाय तोकिएका पूर्व राज्यमन्त्री एवं जनकपुर बमकाण्डको मुख्य योजनाकार सञ्जय साह (टकला)लाई उच्च अदालतले कैद सजाय कम गरिदिएको छ। धनुषा जिल्ला अदालतको फैसलालाई उल्टाउदै उच्च अदालत जनकपुरले ७ वर्ष कायम गरेर राहत दिएको छ।
दुई साता बहसपछि ज्यान मार्ने उद्योगमा जन्मकैदको सजाय सुनाइएका साहलाई उच्च अदालत जनकपुरका न्यायधीश धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले ५ वर्ष कैद सजाय घटाइदिएर ७ वर्ष कायम गरेको हो। न्यायधीश विशेष अदालतबाट जनकपुर गएका हुन्।
१८ बैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा भएको शक्तिशाली विष्फोटमा ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए। त्यसैगरी साहलाई मिडिया उद्यमी अरुणकुमार सिंघनियाको हत्या अभियोगमा पनि १२ वर्ष कैद सुनाएको थियो।
सो समेत एकै ठाउँमा राखेर ७ वर्ष बनाइएको हो। जनकपुर बम विस्फोट घटनामा धनुषा जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाएको थियो।
अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए। ती मुद्दाहरुमा फैसला गर्दै जिल्ला अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय सुनाएको थियो। साहको साजय घटाएर साहविरुद्ध ७ वर्ष कैद सजाय सुनाएको रजिष्टार खड्गराज अधिकारीले बताए । टकलाले आफ्नो सजाय घटाउन लामो समयदेखि लविङ गर्दै आएका थिए।
उच्च अदालत जनकपुरका सो घटनामा १२ वर्ष सजाय पाउनेहरु अन्य अभियुक्तहरु मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झाविरुद्ध जिल्ला अदालतले गरेको फैसला उच्चले सदर गरेको छ।
टकलाको हकमा मात्रै सजाय कम गरेको हो। उनी हाल नख्खु कारागारमा रहेका छन्। बम विस्फोटमा कलाकार रञ्जु झा सहित झगरु मण्डल, बिमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment