बागमती प्रदेशको एग्रिगेटर सूचना बैंक

डिसी नेपाल
२२ असोज २०७८ २१:४५

काठमाडौं । करिब दुई बर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम शुक्रबार प्रदेशको राजधानी हेटौडामा आन्तरिक मामिला तथा कानून मन्त्री डा अजयक्रान्ति शाक्यले उदघाटन गरेका हुन् ।

बागमती प्रदेशको सूचना बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सक्ने बनाइएको छ ।

‘ बागमती प्रदेशका ११९ वटै स्थानीय तहका सूचना आउने सक्ने गरी बनाउन सकिनेछ । सूचना बैंकलाई व्यवस्थित गर्न निर्देशक समितिले निर्देशन दिनेछ’ मन्त्री शाक्यले भने, ‘अब बागमती प्रदेशको सूचना पाउन कतै भौतारिनु पर्दैन,सूचना बैंकमा सर्च गर्दा हुन्छ । बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको यो एउटा गतिलो उदाहरण हो ।’

मन्त्री शाक्यका अनुसार मन्त्रालयले बागमती प्रदेशका सबै ऐन कानून एपमा राखेर चाँडै ल्याउने गृहकार्य गरिरहेको छ । ‘त्यसका लागि मन्त्रालय दत्तचित्त भएर लागिरहेको छ,’ मन्त्री शाक्यले भने ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव मदन भुजेलले सूचना बैंकको प्रभावकारीता र उपयोगितालाई बढाउनु पर्नेमा जोड दिए । ‘यो सूचना बैंकको उपयोग पत्रकार र आम नागरिकले भरपुर रुपमा प्राप्त गर्न सक्नुहुनेछ’ सचिव भुजेलले भने, ‘बागमती प्रदेशमा बनेको यो सूचना बैंक अरु प्रदेशका लागि पनि सिक्न लायक नमूना हुन सक्छ ।’

नेपालमा पहिलो पटक बनेको सूचना बैकको पोर्टलबाट अहिले बागमती प्रदेशका १४ वटै कार्यालयका सूचना वा दस्तावेजहरु डाउनलोड गर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *