पाशुपत क्षेत्रभित्रै गाईवस्तुको अवस्था दयनीय, राज्यले ध्यान नदिएको गुनासो

रिता बस्नेत
२७ असोज २०७८ ७:५३

काठमाडौं। प्रत्येक पूर्णिमाको साँझ आराध्यदेव पशुपतिनाथलाई दीप चढाउने स्थान इतापाखाबाट साँढे छोड्ने चउरतर्फ हेर्दा गाईवस्तुहरुको अवस्था दयनीय देखिन्छ। सडकमा छाडा छोडिएका गाई–बाच्छा तथा पशुपतिमा डामेर छोडिने साँढेको व्यवस्थापनका लागि सो स्थान छुट्याइएको हो।

हिलाम्य फोहोर खुल्ला ठाउँमा गाई गोरुहरुको अव्यवस्थित अवस्था देख्दा जो कसैको मन अमिलो भएर आउँछ। अझ पानी पर्दा हिलाम्ये र गर्मी तथा जाडोमा उचित व्यवस्थापन नहुँदा त्यहाँ राखिएका जनावरहरुको दिन कष्टकर भएको प्रष्ट देख्न सकिन्छ।

काठमाडौं महानगरपालिका–८ पशुपति क्षेत्रको १२ रोपनी क्षेत्रको गौशालामा गाईबाच्छा र साँढेलाई राखिँदै आइएको छ। व्यवस्थित गोठको अभावमा हिलो र वर्षात्को पानीका कारण त्यहाँ राखिएका एक सय ५३ वटा गाईवस्तु पानीले निथ्रुक्क भिज्दँ हिलोमा बस्न बाध्य छन्।

सडकमा पुगेका गाई बाच्छालाई सवारी साधनले ठक्कर दिने, कुकुरले टोक्ने, लड्नेलगायत दुर्घटना हुँदा विजोग अवस्थामा देखेपछि तिनको उद्धारमा अभियन्ता आरबी न्यौपाने जुटेको करिब १५ वर्ष भएको छ।

न्यौपानेले मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान–२०७१ मार्फत वेवारिसे जनावरको आश्रयस्थलका लागि सो क्षेत्र पशुपति विकास कोषले उपलब्ध गराएको हो।

अध्यक्ष न्यौपाने भन्छिन्, ‘औषधीय गुणयुक्त दुध, गहुँत, गोबर दिने गाईको संरक्षण, सुरक्षित बासस्थानको व्यवस्थापनमा सरकारको सहयोग पाइन। सडकबाट त उद्धार गर्छु तर गोठ नै बनाउन नसक्दा पानी र हिलोमै यिनलाई राख्नुपर्ने बाध्यता छ।’

उनले सहयोगी, शुभचिन्तककै दान दातव्यबाट हालसम्म खाना, पानी, औषधि उपचार गर्दै आएको बताइन्। उनका अनुसार एउटा गोठमा सबै गाईबाच्छा र साँढे नअटाएका कारण हिलो र पानीमा रूझेको हेरिरहनुपरेको छ।

उनले सुरुमा संस्थागत रूपमा काम गर्नुअघि सात÷आठ वर्षसम्म सडकमा बेवारिसे अवस्थामा छाडिएका गाई, बाच्छाको उपचार र खाना खुवाउने गर्थिन्। सो कार्य गरेको देखेर कतिपयले सहयोग गर्नुको साटो उल्टै उनलाई पागल भन्ने गर्थे। तर, पछि उनले आफ्नो इच्छालाई अभियानको रूपमा अगाडि बढाइन्।

व्यवसायको नाममा कागज झोलामा बोक्नेले सहयोग÷अनुदान पाउने प्रवृत्तिले आफूलगायत सोझा किसानले सरकारको कार्यक्रमबाट लाभ लिन नसकेको अध्यक्ष न्यौपानेको बुझाइ छ।

‘सरकारले गोठ सुधारका कार्यक्रम सार्वजनिक गरेको समाचारमा सुन्छु तर त्यो सुविधा÷अनुदान लिने प्रक्रियामा लाग्दालाग्दा थाकें तर सहयोग पाइन’, भन्दै अभियन्ता न्यौपानेले स्थानीय सरकार प्रमुखले तोक नै लगाएको पत्रलाई प्रसाशनमा बस्नेले नटेर्ने, फाइल गायब गर्ने र सरकारी कर्मचारीको बदमासीका कारण आफ्नो अभियानले सहयोग नपाएको गुनासो गरिन्।

गाईलाई दुध आउन्जेल पाल्ने, अशक्त भएपछि सडकमा छोड्ने, बाच्छा बाच्छीलाई जन्मेको केही दिनमै छाडा छोड्ने किसानलाई शक्त कारवाही नगरेसम्म छाडा गाईको समस्या रहिरहने उनको भनाइ छ।

अभियानले एउटा गाईका लागि दिनको २० रूपैयाँ छुट्याएर वार्षिक सात हजार दुई सय रुपैयाँ लिएर किसानले घरमा राख्न नसकेका गाईलाई पाल्ने योजना ल्याएको छ भने त्यही भएका गाईका लागि सहयोग दिन चाहनेले पनि रकम दान दिने गरेका छन्।

उनका अनुसार काठमाडौं र काभ्रेका बेथानचोक र नमोबुद्धमा पनि अभियानले छाडा गाईको संरक्षणका लागि गौशाला सञ्चालन गरिरहेको छ। काठमाडौंमा १४ जना र काभ्रेमा ७ जना सहयोगीहरू कार्यरत छन्।

गौशालाका गाईका दुध, गोबर र गहुँत पूजालगायत धार्मिक संस्कारका लागि प्रयोग गरिन्छ। र, ती सामग्री लिन आउनेले दान पेटिकामा रकम हालेर जाने गर्छन्। साथै, हाल त्यहाँका जनावरलाई सहयोगी मनहरूले दिएको पिठो, चनालगायत आर्थिक सहयोगको भरमा दाना, पानीको व्यवस्था हुँदै आएको छ।

गाईको अन्त्येष्टिका लागि ठाउँको अभाव

व्यवस्थित गोठको अभावले बिजोग अवस्थामा रहेका गाई, बाच्छा, साँढे मरे त्यसको अन्त्येष्टिका लागि ठाउँको अभाव छ। गाई मरे रातारात १५ किलोमिटरसम्म टाढा पुर्‍याएर गाड्नुपर्ने बाध्यता छ।

मानिसका हरेक समुदायका लागि घाट बन्छन्। तर, गाई, बाच्छा साढें मरे अन्त्येष्टि गर्ने ठाउँ नहुँदा १५ देखि २० हजारसम्म खर्च गरेर दुःख पाउनुपरेको न्यौपाने बताउँछिन्।

अध्यक्ष न्यौपानेका अनुसार छाडा पशुपंक्षीका लागि राज्यले छुट्याएको रकम बढीमात्रामा गाईवस्तुको उपचारमा खर्च हुने गर्छ। उनी भन्छिन्, ‘उपचार खर्च त्यत्तिकै महङ्गो छ, कतिपय अवस्थामा एउटै वयस्क गाईलाई ८० हजारदेखि १ लाख रूपैयाँसम्म उपचार खर्च लाग्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *