हराए पिङ, खाली भए पिपलका हाँगा – Dcnepal

हराए पिङ, खाली भए पिपलका हाँगा

जाजरकोट । गाउँभरी युवा जम्मा भएर बाबियोको खरबाट निर्माण गरिएका डोरीबाट पिङ निर्माण गर्ने चलन जाजरकोटमा विस्तारै हराउँदै गएको छ। बढ्दो आधुनिकता र सहरीकरणका कारण अधिकांश चलनहरू लोप हुँदै गएको जानकारहरू बताएका छन्। रुकुम पश्चिम, जाजरकोट र तल्लो डोल्पामा पिङ निर्माण गर्ने चलन हराउँदै गएको हो।

पिपल, वर, भिमल र चिउरीको रुखको हाँगामा बाबियोको डोरी बाँधेर दसैँ, तिहारको समयमा रमाइलो गर्ने चलन हराउँदै गएको हो। केही युवाहरू देश छोडेको, कोही पढ्न गएको र घरमा सीमित जनशक्ति भएकाले यस्ता खालका क्रियाकलाप लोप हुँदै गएको हुन्।

धान , मकै लगायका अन्नहरू भित्र्याउँदै गर्दा थाकेको शरीरलाई पिङमा गएर रमाइलो गरेर ऊर्जा दिने काम हराएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए। सहर बजारमा बाँस र काठमा डोरी बाँधेर पिङ निर्माण गरे पनि गाउँमा भने अग्लो रुखको हाँगामा बाबियोको डोरी निर्माण गरी पिङ हाल्ने गर्ने चलन रहँदै आएको थियो।

‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ। यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ। यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै हालिने पिङ पछिल्ला केही वर्षयता हराउँदै जान थालेका छन्।

गाउँघरका युवादेखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चारवटा लिङ्गा गाडेर अथवा पीपल आदि ठूलो रुखको हागाँमा पिङ बनाउने गरिन्थ्यो। दसैँको सुरुआतदेखि हालेको पिङ तिहारसम्मै राखिन्थ्यो। तर, गाउँ घरका युवा रोजगारीका लागि विदेशिन थालेपछि दसैँमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको स्थानीयवासीको भनाइ छ।

आवश्यक सामग्री र बनाउने मान्छेको कमि छ। दक्ष जनशक्तिको अभावका कारण पनि पिङ संस्कृति हराउँदै गएको बताइएको छ। वैदेशिक रोजगारीबाट फर्केका युवाको गाउँमा पनि पिङको कुनै रौनक छैन। उनीहरू भेला भएर भलिबल, ब्याडमिन्टन, फुटबल र मोबाइलमा नानाथरिका खेल खेलिरहेका हुन्छन्।

साथीभाइ भेला हुने, पार्टी खाने र रमाइलो गर्ने नाममा बजार र गाउँमा होटेल तथा रेष्टुरेन्टमा युवाको जमात देखिन्छ। तर, पिङ हालेर खेल्ने र परम्परागत प्रविधि तथा चलनहरूको संरक्षण गर्ने कार्यमा भने उनीहरू लाग्न नरुचाउने गरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका रवि केसीले बताए।

गाउँमा युवापुस्ताको उदासिनता र आधुनिकताको नाममा आयातित विभिन्न प्रविधिको बढ्दो मोहका कारण महान चाड दसैँ र तिहारमा निर्माण गरेर खेल्ने लिङ्गे पिङको प्रचलन विस्तारै हराउँदै गएको जानकारहरू बताउँछन्। जिल्लाका सबै ठाउँमा पिङ मात्र होइन मादल पनि हराउँदै गएका छन्। डेग, मोबाइल र रेडियोले त्यो स्थान लिएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो