६ लाख जनाको ज्यान जाँदा पनि कोभिड नियन्त्रणका उपाय नचाल्ने ब्राजिलका राष्ट्रपतिबिरुद्ध लाग्न सक्छ अपराधिक मुद्दा

डिसी नेपाल
३१ असोज २०७८ ७:१३

रियो दि जेनेरियो। कोभिड महामारी बेवास्ता गरेको र संक्रमण नजर अन्दाज गर्ने ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध ११ ओटा अपराधिक मुद्दा दायर हुन सक्ने एक सिनेटरले बताएका छन्।

कोभिड महामारीबारे हल्का टिप्पणी गर्ने र रोकथाम तथा नियन्त्रणको उपाय नचाल्ने राष्ट्रपतिबिरुद्ध विभिन्न अभियाेगमा मुद्दा चलाउन सकिने सिनेटर रेनान कालहेरोसले बताएका हुन्। रेनान कोभिड महामारीबाट देशमा भएको ठूलो जनधनको क्षतिबारे अनुसन्धान गर्न गठित समितिका प्रमुख हुन्।

एउटा रेडियो अन्तर्वार्तामा रेनानले छानबिनले देशको जनजातिको वंश विनाश, सार्वजनिक कोषको प्रयोगमा अनियमितता, सरसफाई मापदण्डको उल्लंघन, अपराध गर्न दुरुत्साहन र फर्जी कागजातजस्ता अभियोगमा राष्ट्रपतिबिरुद्ध मुद्दा दायर गर्न सकिने बताए। राष्ट्रपतिसँगै उनका छोरा र पूर्व स्वास्थ्य मन्त्री इडियुआर्डोबिरुद्ध पनि मुद्दा लगाउन सकिने समाचारमा जनाइएको छ।

कोभिड महामारीबारे सरकारको लापरबाही गरेको र ठूलो क्षतिबारे गठित अनुसन्धान समितिले आफ्नो प्रतिवेदन मंगलबार सार्वजनिक गर्ने तयारी छ। बिहीबार महान्यायाधिवक्तासमक्ष प्रतिवेदन पेस गर्नुअघि राष्ट्रपति र अन्य व्यक्तिलाई अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा बुधबार समितिका सदस्यहरुले प्रतिवेदनमाथि मतदान गर्नेछन्।

राष्ट्रपति बोल्सोनारोले कोभिडलाई प्रायः हल्का रुपमा टिप्पणी गर्दै आएका छन् । कोभिड कुनै रोग नभएको भन्दै उनले अहिलेसम्म खोप लगाउन मानेका छैनन्। कोभिडबाट ब्राजिलमा अहिलेसम्म ६ लाख मानिसको मृत्यु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *