कुटपिटबाट भिमबहादुर विकको मृत्यु

डिसी नेपाल
१ कार्तिक २०७८ १९:४०

काठमाडौं। भरतपुर महानगरपालिका–४ दुर्गा चोकमा महानवमीका दिन गैरदलित दुई पुरुषको कुटाईबाट स्थानीय ५८ वर्षीय दलित समुदायका भिमबहादुर विकको मृत्यु भयो । कुटपिटमा संलग्न ४० वर्षीय सिताराम बस्नेत र ३६ वर्षीय दिलिप श्रेष्ठलाई प्रहरीले सोही दिन पक्राउ पनि गर्यो ।

प्रहरीले मादक पदार्थ सेवन गरि चोकमा अपशब्दसहित हो–हल्ला गरेपछि स्थानीयको कुटपिटबाट विकको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । तर दलित समुदायका विभिन्न संघसंस्थाले भने उक्त घटनालाई जातीय विभेदको मुद्दातर्फ मोड्ने प्रयास गरेका छन् । उनीहरू मृतक विक दुर्गा मन्दिरमा गएका बेला स्थानीय दुई पुरुषले कुटपिट गरि हत्या गरेको आरोप लगाएका छ ।

चितवन प्रहरीका अनुसार मृतक विक महानवमीका दिन मदिरा सेवन गरि अपशब्दसहित हो–हल्ला गर्दै दुर्गा चोकमा पुगेका थिए । अपशब्द प्रयोग गरेपछि स्थानीय सिताराम बस्नेतले विकलाई प्लाष्टिकको पाइपले हानेर लखेटेका थिए । त्यसको करिब १० मिनेटपछि अपशब्द प्रयोग गरि हल्ला गर्दै विक पुनः चोकमा पुगेका थिए ।

हत्या आरोपी दिलिपले सञ्चालन गरेको फार्मेसी अगाडी पुगेर हल्ला गरेपछि उनले पनि विकलाई एक झापड हानेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिसपी सूर्यबहादुर थापाले जानकारी दिए । मदिराले लट्ठ भएका विक एक झापडमै भुईमा पछारि र उनको टाउकोको पछाडीको भागमा चोट लागेको थियो । सुरुमा दिलिपले नै आफ्नो फार्मेसीमा विकको उपचार गर्न खोजेका थिए ।

सामान्य उपचारले नहुने देखेपछि दिलिपले नै विकलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याएका थिए । अस्पताल पुगेपछि अस्पतालले विकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता थापाले बताए । ‘देख्ने मान्छेहरुसँग प्रारम्भिक रुपमा बुझ्दा पनि जातको कुरालाई लिएर वा मन्दिरमा पस्न नदिएको कारण घटना भएको भन्ने आएको छैन,’ थापाले भने ।

भरतपुर अस्पतालमा मृतकको शव पोष्टमार्टम गरिएको छ । अस्पतालले प्रहरीलाई पोष्ट मार्टमरिपोर्ट दिइसकेको भए पनि प्रहरीले रिपोर्ट भने गोप्य नै राखेको छ । मृतकका आफन्तहरुले शव भने बुझेका छैनन् । मृतकका आफन्तले जाहेरी दिएपछि प्रहरीले घटना भएकै दिन दुई जनालाई नियन्त्रणमा लिएको हो । चोकको एक पसलमा राखिएको सिसि क्यामराको फुटेज हेरेर थप अनुसन्धान भइरहेको प्रवक्ता थापा बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *