वर्षाका कारण भकारीमा जाने धान खेतमै कुहियाे (फोटोफिचर)
काठमाडौं । यस वर्षको दसैं धेरैका लागि पीडा दिएर गएको छ। हर्षले मनाउने दसैमा वर्षा भएपछि किसानलाई पीडा थपिएको हो। भकारीमा राख्ने बेलाको धान वर्षाका कारण खेतमै कुहिन थालेको छ।
गत आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण धानबालीमात्र नभएर बाढी र पहिरोको पनि उक्तिकै प्रभाव छ। विशेषगरी धानखेति हुने कैलाली, कञ्चनपुर लगायत तराईँका जिल्लाहरुमा किसानले काटेको धानमाथि पानी बग्दा खान लागेको भाग खोसिएको हो।
असारभरी मेहनत गरेर पसिनासँग किसानले साटेका धानका बालामा वर्षायाम जस्तो निरन्तर झरी र बाडिका कारण किसान मर्कामा परेका छन्। सामाजिक सञ्जालमा विभिन्न ठाउँबाट तस्वीरहरु राख्दै मौसमसँग आक्रोश पोखिएको देखिन्छ।
कृषि तथा पशुपंक्षी मन्त्रालयले निरन्तर वर्षा भइरहेका कारण क्षतिको विवरणप्राप्त हुन नसकेको बताएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश कुमार सन्जेलले विभिन्न ठाउँमा भएको क्षतिको विवरण संकलन हुन नसकेको जानकारी दिए।
डिसी नेपालसँग कुरा गर्दै सन्जेलले भने, ‘वर्षा निरन्तर भईरहेकोले हामीले तथ्याङ्क संकलन गर्न सकेका छैनौं। पहिलो कुरा त वर्षा रोकिनुपर्छ। अनिमात्र हामीले प्रदेशलाई भनेर क्षतिको तथ्याङ्क संकलन गर्न सक्छौं।’
प्रदेशसँग अनौपचारिक कुरा भए पनि वर्षाका कारण एकिन क्षति प्राप्त हुन नसकेको उनको भनाइ छ। उनले किसानहरुलाई राहतका विषयमा पनि क्षतिको विवरण संकलन भएपछिमात्र छलफल हुने जानकारी दिए।
तस्वीर : रासस र समाजिक सञ्जालबाट
Facebook Comment