बर्सेनि वर्षाले चुटिन्छ धान

डिसी नेपाल
२ कार्तिक २०७८ १८:१५

काठमाडौं। पोखरामा भित्र्याउन ठिक्क पारेको धानबालीमा लगातारको वर्षाको कारण क्षति पुगेको छ ।

पोखरामा १२ हजार हेक्टरमा धान खेती हुन्छ । यस वर्ष यहाँ करिव ३८ हजार मेट्रिक टन धान उत्पादनको अनुमान छ । तर, भित्र्याउने बेलामा पानीले चुटेपछि धान उत्पादन घट्ने अनुमान छ । पानीले ढालेका र डुबाएका धानमा २५ प्रतिशत उत्पादन घट्ने पोखराका कृषि प्रमुख मनहर कडरियाले बताए ।

‘धेरै नोक्सान नभए पनि अहिले बेमौसमी पानीले असर गर्‍यो । काटिसकेर पानीले चुटेको २५ प्रतिशत धान क्षति हुन्छ’, उनले भने, ‘भित्र्याउने बेलाको धानमा वर्षा भए छिटो कुहिने र उम्रिने समस्या हुन्छ । चामलमा स्वाद पनि राम्रो हुँदैन ।’उनका अनुसार पोखराको हेमजा, फेवाफाँट, वेगनासलगायतका क्षेत्रमा बढी क्षति पुगेको छ । काटिसकेको धान पानीमा डुबेको छ भने काट्न ठिक्क परेकालाई ढलाएको छ । ‘अब मौसमको पूर्वानुमान हेरेर मात्र धान काट्नुपर्छ । तीन दिन झरी देखाइरहेको छ । किसानले त्यसलाई वास्तै गर्नुभएन’, उनले भने, ‘अहिले त सबैको हातमा मोबाइल छ । एक पटक मौसम हेरे भइहाल्छ ।’ सबैजसो फाँटमा गराभरी पानी तालिएको छ ।

खेतीमा विपद् पसे किसानलाई सहुलियत दिन सरकारले कृषि बीमाको कार्यक्रम ल्याएको छ । तर, किसानको बीमाप्रति आकर्षण छैन । बीमा कम्पनीहरूले कृषि क्षेत्रमा गरेको बीमाबाट धेरै नाफा नहुने भएपछि बीमामा चासो नदिएका हुन् । कास्कीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बीमा गर्ने जिम्मेवारी पाएको छ तर हालसम्म जिल्लाभर कसैले पनि धानको बीमा गरेका छैनन् ।

अघिल्लो वर्ष तीन जना किसानले धानको बीमा गरेका थिए । धान मात्र होइन, अरू कृषि बीमा गर्नेहरू पनि निकै कम छन् । सिद्धार्थ इन्स्योरेन्स पोखराका अनुसार बालीतर्फ ३५ जना किसानले मात्र बीमा गरेका छन् । पशुतिर भने करिव ३०० जनाले बीमा गरेका छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *