तीन दिनदेखिको अविरल वर्षाका कारण डोटीमा राजमार्ग अवरुद्ध

डिसी नेपाल
२ कार्तिक २०७८ २०:५३

काठमाडौं। तीन दिनदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा पहलमानसिंह स्वाँर रामजमार्ग अवरुद्ध भएको छ । सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा आज दिउँसो पहिरो आउँदा उक्त राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।

पहिराले अवरुद्ध राजमार्ग सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन भए पनि वर्षा नरोकिएका कारण राजमार्ग खुलाउन नसकिएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला बाजुरा तथा अछामबाट तराइँ जानका लागि आएका दर्जनौँ सवारी साधन तथा यात्रु अहिले बीचबाटोमै अलपत्र परेका छन् ।

यसैगरी डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने डा केआइसिंह राजमार्गका विभिन्न ठाउँमा पनि पहिरो जाँदा यातायात सेवा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयकाका अनुसार उक्त राजमार्गको कालागाढ, रडुवा, अड्यौललगायतका ठाउँमा पहिरो आउनुका साथै सडकमा ठूलठूला ढुङ्गा आएका कारण सडक सञ्चालन गर्न सकिएको छैन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *