डोटी जिल्लामा आएको बाढी, पहिरामा परी ८ जनाको मृत्यु
काठमाडौं। आजमात्रै डोटी जिल्लामा आएको बाढी, पहिरामा परी आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५/३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२/६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक रहेका छन् ।
यसैगरी तीन दिनदेखिको लगातारको बर्सात्का कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उनका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताएका छन्।
उता केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ । उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन भए पनि फेला पार्न सकिएको छैन ।
यसैगरी दिपायल सिलगढी नगरपालिका–८ पाङरिमा अन्दाजी १५/२० घरधुरी परिवार पहिराको जोखिममा परी विस्थापित भई सुरक्षित बासस्थानका लागि स्थानीय दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment