वर्षाले धनुषाको जनजीवन कष्टकर, मुख्यमन्त्री कार्यालय मै पानी पस्यो

डिसी नेपाल
३ कार्तिक २०७८ १२:५१

जनकपुरधाम। मंगलबार रातिदेखि भएको निरन्तर वर्षा र डुबानले धनुषाको जनजीवन कष्टकर बनेको छ।

अविरल वर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर, मधेश भवनसहित जनकपुरधाम उपमहनगरपालिकाको वडा १, ४, ८, ७, १६ का केही घरमा पानी पसेको छ।

हवाहुरी र वर्षा सँगै भइरहेकोले जनकपुरधाम–काठमाडौं हवाइ उडान समेत प्रभावित भएको छ। दैनिक १० उडान हुने जनकपुर–काठमाडौं हवाइ सेवा अवरुद्ध भएको छ । मौसम खराब भएपछि सोमबार पनि तीन वटा उडान क्यान्सिल गरेको जनकपुर विमानस्थलका रामजनम साहले बताए।

यसैगरि, स्थानीय रामानन्द चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको सडक, शिवचोकसहितका सडकको पानीको निकास नहुँदा डुबानमा परेको छ। उपमहानगरपालिकाले डोजर लगाएर जाम भएका नालालाई साफा गरेपछि पानीको घट्दै गएको छ। यसैबीच धनुषा र सिरहाको सिमाना कमला नदी तथा धनुषाका अन्य नदीहरूमा पानी सतह बढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

रातीदेखि नै निरन्तर वर्षा भइरहे पनि जिल्लाका नदीहरूमा पानीको सतह अहिलेसम्म नियन्त्रणमै रहेको र कुनै प्रकारका मानवीय तथा भौतिक क्षति नभएको प्रहरी उपरीक्षक प्रकाश राना भाटले बताए। तर कमला नदीको पानी बाहिरियो भने ठूलो जनधनको क्षति हुने सम्भावना रहेकोले उनले बताए। यस विषयमा पहिलादेखि नै सर्तक रहेको र डुबान परेकाहरूलाई उद्धार र राहतको लागि सम्पूर्ण तयारी पुरा भइसकेको उनले बताए।

हावाहुरीसँगै भइरहेको वर्षाले प्रदेश २ को प्रमुख धानबालीमा क्षति पुगेको छ। वर्षासँगैको हावाहुरीले भित्र्याउने बेला भएको धानबालीलाई नोक्सान गरेको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले बताए। अग्लो क्षेत्रको धान खेतमा खासै प्रभाव नपारे पनि समतल तथा गहिरो जग्गाको खेतको बालीमा नोक्सान भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *