‘मनले चाह्यो भने खुट्टा थाक्दैनन्’

तर्कबहादुर थापा
३ कार्तिक २०७८ १४:४५

काठमाडौं। आमाबुबाका अनुसार विहे गर्ने उमेर भयो। आफन्त र शुभचिन्तक पनि विहे गरेको भए हुने भन्ने सोचिरहन्छन्। कतिले मुखै फोरेर बोल्छन् त कतिले मनमनै। सँगैका साथीहरुका लालाबाला खेलेको देख्दा पूर्णिमालाई दबाब आउनु स्वभाविक पनि होला तर, पूर्णिमा अझै चम्किन चाहन्छिन्।

अझै उज्यालो छर्नु छ पूर्णिमालाई। सपना देखेर हिडेकाहरुलाई गन्तव्यमा पुग्ने बेलासम्म उज्यालो छर्न चाहन्छिन पूर्णिमा। जसरी हिमालय आरोहण गर्दा चन्द्रमाको प्रकाशसँगै आरोहीले चुचुरोमा पाइला टेक्छन्। उनले पनि धेरै पटक चन्द्रमाको उज्यालोमा हिमालका चुचुरामा आफ्नो कदम राखेकी छिन्।

गोरखाको आरुटारमा जन्म लिएकी पूर्णिमाको कसैले पनि हिमालसँग नाता गाँसेका थिएनन्। कसैलाई पनि हिमाल पुग्ने र देख्ने अवसर प्राप्त भएको थिएन। हुन त उनी पनि हिमाल चड्ने सपना लिएर जन्मिएकी पनि होइनन्।

धेरैपछिमात्र पूर्णिमाले हिमाललाई आफ्नो लक्ष्य बनाइन्। सबै भन्दा पहिला सन् २०१७ सेप्टेम्बर २७ तारिख उनले मनास्लु हिमालको सफल आरोहण गरिन्।

सामान्य परिवारमा जन्म लिएका व्यक्तिहरुले पनि ठूलो सपना देख्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन् उनी। हिमाल चढ्न लाग्ने खर्चका बारेमा थाह नभएरै उनले मनास्लु चडिन्। चाहिने सामग्री पनि प्राप्त थिएन। हिमाल चढ्न आट गरेर मनास्लु बेसक्याम्प पुगेपछिमात्र पूर्णिमालाई सबैले हिमाल चढ्न सक्दिनौ भने। उनको मनले मानेन्। उनले आफ्नो गन्तव्यलाई निरन्तरता दिइन्।

‘तालिम पनि लिएकी थिइन,’ पूर्णिमा सुरुवातीका दिनहरु सम्झन्छिन्, ‘मलाई हिड्न पनि आउँथेन। हिमालमा हिड्ने कुरा, अक्सिजन, ड्रेसअप धेरै कुराले अर्थ राख्दो रहेछ। म त हिमाल चढ्नु छ भन्ने कुरामात्र मनमा लिएकी थिएँ। जसरी पनि हिमाल चढ्नु पर्छ भन्ने लागेको थियो। म हिँडेको देख्दा धेरैले तिमी सक्छौ भन्न थाल्नु भयो। अन्ततः मनास्लु चड्न सफल भएँ।’

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य ८ वटा अग्ला हिमाल नेपालमै छन्। सगरमाथाको आरोहण गर्नका लागि धेरै विदेशी तथा नेपालीहरुले पनि ज्यान गुमाएका छन्। धेरैको लक्ष्य हुन्छ। हिमाल आरोहण धेरैले आफ्नो जीवनको अन्तिम लक्ष्यका रुपमा पनि लिएको अनुभवहरु सुन्न र पढ्न पाइन्छ नै।

त्यही सगरमाथा सफल आरोहण गरेर फर्किएकी पूर्णिमा पनि हरेक नेपालीले जीवनको अन्तिम श्वास रहेसम्म पनि सगरमाथा देख्न पाइयोस् र सगरमाथा हेरेरमात्र प्राण त्याग्ने संकल्प गरुन भन्ने अपेक्षा राख्छिन्।

उनी मनास्लु चडेको केही महिनामा नै सगरमाथा चढिन्। सन् २०१८ को मे २९ तारिखमा उनले सगरमाथाको पनि सफल आरोहण गरिन्। हिमाल चढ्ने आँट गरिन्। ‘भगवानले पनि तिमी आँट म पुर्‍याउँछु भन्छन् रे’ पूर्णिमा सगरमाथाका आरोहरण गरेको अनुभव सुनाउँदै भन्छिन्, ‘मैले पनि आँट गरेँ र पूरा भयो। मैले सगरमाथा चढ्दा पनि धेरै तयारी थिएन। स्पोन्सरहरु पनि थिएनन्। चढ्नु पर्छ। भन्ने हुटहुटी हुन थाल्यो हिडेँ।’

विश्वकै सर्वोच्च शिखरको सफल आरोहण गरेपछि उनका लागि अरु हिमाल चढ्नु धेरै समस्या नै भएन। अहिले नेपालका आठ हजार बढी उचाँई भएका सबै हिमाल चढ्ने दृढ संकल्पका साथ अगाडि बढेकी छिन् पूर्णिमा।

उनले सगरमाथा चढ्दा नै साह्रै सुन्दर देखिएको आमादबलम हिमालको पनि सफल आरोहण गरिसकेकी छन्। २०१९ मा उक्त सुन्दर हिमालको पनि सफल आरोहण गरेपछि सोही सालको अन्त्यमा विश्वमा देखिएको कोरोनाको संक्रमणले उनको सपनामा एक बर्ष ब्रेक लगायो। २०२० मै अन्य हिमाल आरोहण गर्ने सपना भए पनि कोरोना महामारीले उक्त कामहरु सफल हुन दिएन

उनले २०२० मा अधुरो रहेको हिमाल चढ्ने सपनालाई २०२१ व्याज सहित पूरा गरेकी छन्। २०२१ को अप्रिल १६ मा अन्नपूर्ण १ को सफल आरोहण गरेकी पूर्णिमाले अघिल्लो वर्षको खालीस्थान पूरा गर्न २०२१ कै अक्टोबर १ तारिखमा धौलागिरी हिमाल पनि सफल आरोहण गरिन्। अहिलेसम्म नेपाली महिला नपुगेको अन्नपूर्ण १ र धौलागिरीमा पूर्णिमासहितको महिला टोलीले पाइला टेकेको हो।

‘हिमालका टाकुरामा पुग्नका लागि हरेक पाइलाबाट धेरैकुरा संचय गर्नुपर्छ,’ पूर्णिमाले हिमालमा जानेहरुका लागि केही टिप्स पनि दिँदै भनिन्, ‘आफूमा भएको शक्तिको थोपाथोपा बचाउँनु पर्छ। आफूले फेर्ने श्वासको हरेक पलमा आफूलाई मोटिभेट गरिरहनु पर्छ। आफ्नो सपनालाई मात्र फोकस गरेको हुनुपर्छ। हामीमा शक्ति संचय गर्ने गुण भएन भने, हरेक श्वासमा आफूलाई हिमालको टाकुरामा पुग्ने लक्ष लिएको छु भन्दै मोटिभेट गर्न सकेन भने गाह्रो हुन्छ।’

पूर्णिमा अहिले पनि हरेक गाह्रो कामलाई आफूले सजिलै गर्ने गरेको सुनाउँछिन्। ‘म त हिमालमा संघर्ष गरेर टाकुरामा पुगेकी मान्छे हुँ। यस्तै अल्छी गरेको भए हिमाल चढ्न सक्थेँ। भन्दै आफूलाई नै काममा मोटिभेट गरिरहेकी हुन्छु। यसो गर्दा मलाई अझै उर्जा प्राप्त हुन्छ। विहे गर्नु पर्छ भन्नेलाई पनि मैले हरेक हिमाल मेरो एक सन्तान हो। एक छोरा छोरी हो भन्दै सुनाउँछु। साच्चिकै म एउटा हिमाल हेरेरमात्र पनि जीवन बिताउन सक्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *