बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

डिसी नेपाल
६ कार्तिक २०७८ १०:२८
1.1k
Shares

बैतडी । बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ। कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए।

यस्तै २१ हजार ५४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ। छदेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। जसका लागि केन्द्रमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ। स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ। वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य कार्यालयको आग्रह रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *