आजदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण

डिसी नेपाल
६ कार्तिक २०७८ १६:३८

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आजदेखि बाढीपहिरापीडितलाई राहत वितरण सुरु गरिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण थालेको हो ।

हेलिकोप्टरमार्फत राहत सामग्री ढुवानी गरेर प्रदेशका पहाडी जिल्लामा सो राहत सामग्री वितरण गर्न थालिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिए। क्षतिको विवरण सङ्कलन गरिसकेकाले बाढीपहिरो प्रभावितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न लागेको उनले बताए ।

राहत प्याकेजमा चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल र स्वास्थ्य सामग्री छ । आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा आन्तरिक मामिला तथा कानुनमन्त्री जोशीसहितको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम छ ।

कसैले पटक–पटक पाउने र कोहीले एक पटक पनि नपाउने गुनासोबाट मुक्त हुन सरकारसँग सहकार्य गरेरमात्रै राहत उपलब्ध गराउन प्रदेशमा कार्यरत सबै गैरसरकारी संस्थालाई निर्देशन दिइएको मन्त्री जोशीले बताए । बाढीले बढी क्षति पु¥याएको क्षेत्रमा मात्र राहत वितरण गर्न लागिएको छ । पहाडी क्षेत्रमा सडक अवरुद्ध भएकाले बाढीपीडितलाई राहत वितरण गर्न समस्या भएको उनको भनाइ छ ।

सुदूरपश्चिममा हालसम्म बाढी पहिरामा परी ४३ जनाको ज्यान गएको छ भने २२ बेपत्ता छन् । यस्तै १७ जना घाइते छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *