बेमौसमी वर्षाले कर्णालीका भौतिक संरचना तहसनहस, अन्नबाली सखाप

डिसी नेपाल
७ कार्तिक २०७८ १४:०५

दैलेख। गत आइतबारदेखि तीन दिन लगातार परेकोे वर्षाका कारण कर्णालीमा जनधनको ठूलो क्षति भएको छ। प्रदेशका सबैजसो जिल्ला बाढीपहिरोबाट प्रभावित हुँदा यहाँका भौतिक संरचनाहरू तहसनहस हुनुकासाथै अन्नबाली सखाप भएका छन्।

अविरल वर्षाले कसैको ज्यान लियो भने ज्यूदैँ रहेकाहरूलाई पनि अब के खाने भन्ने चिन्ता थपिदिएको छ । बाढीले किसानका धानबाली मात्रै डुबाएन खेत समेत बगर बनाएको छ । कतिपय किसानको बास मेटिएको छ भने कयौंले जीवनभरको जायजेथा गुमाएका छन् ।

प्रदेशभर नौ जनाको मृत्यु

तीन दिनको बाढीपहिरोलेमा कर्णालीमा नौ जनाले ज्यान गुमाए । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोले घर पुरिँदा हुम्लामा ६ र कालीकोटमा एक जनाको ज्यान गएको हो । यस्तै, जुम्ला र सल्यानमा खोलाले बगाउँदा एक एक जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परेका चार जनाको उद्वार भएको छ । कालीकोटमा तीन र सुर्खेतमा एक जनाको पनि उद्धार भएको छ ।

पशुपालनमा ठूलो क्षति

बाढीले कर्णाली प्रदेशम एक सय ५४ पशुचौपाया मरेका छन् भने एक सय २० बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कालीकोटमा एक सय ३२ भेडाबाख्रा बग्नुको साथै ११ वटा गाईबाच्छा बगाएको छ । मुगुमा गोठ पुरिँदा ६ वटा भेडाबाख्रा मरेका छन् । हुम्लामा पहिरोमा परी पाँच वटा गोरुगाई मरेका छन् भने जुम्लामा एक सय २० वटा भेडा बेपत्ता भएको प्रदेश प्रहरीले जनाएको छ ।

१३ घर पूर्ण क्षति

वर्षाले प्रदेशभर १३ वटा घर पूर्णरूपमा क्षति भएका छन् । जुम्ला, कालीकोट, हुम्ला, सुर्खेत र रुकुम–पश्चिममा घरहरूमा पहिरोले क्षति पु¥याएको हो । यस्तै, पहिरोले हुम्ला र कालीकोटमा गरी तीन वटा गोठ भत्किएका छन् ।

जुम्लाको तातोपानी गाउँपालिका–८ का पाँच वटा पानीघट्ट बाढीले बगाएको छ । सोही स्थानमा रहेका तीन वटा मन्दिर, एक काठ मिल र एक झुलुङ्गे पुलमा बाढी–पहिरोले हानी गरेको हो । तातोपानी गाउँपालिकाकै इमिल्चा खोला र भेरीखोलाको दोभानमा रहेको १२ किलोवाटको लघु जलविद्युत आयोजनाको मेसिनसहित भवनमा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ । कालीकोट खाडाचक्र नगरपालिका–२ जितेस्थित कर्णाली नदीमा रहेको फेरी पनि बाढीले बगाएको छ ।

जोखिममा रहेकालाई स्थानान्तरण

बाढीपहिरोका कारण उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । कालीकोट, दैलेख र सुर्खेतका विभिन्न स्थानमा जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा राखिएको हो ।

कालीकोटको महावै गाउँपालिका–७ राम्नीस्थित ६० परिवारका दुई सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । दैलेखको आठबिस नगरपालिका–१ रामघाटका २५ घरपरिवारका एक सय दुई जनालाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

सुर्खेतको चौकुने गाउँपालिका–४ झालाका ११ परिवार ७९ जनालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । कार्यालयले दिएको जानकारी अनुसार ९६ घरधुरीका चार सय ३१ जनालाई बाढी–पहिरोको जोखिम नभएका ठाउँमा सारिएको हो ।

पीडितलाई राहत र घाइतेको निःशुल्क उपचार

कर्णाली प्रदेश सरकारले विपद्बाट भएको क्षतिको विवरण संकलन गरी राहत दिने भएको छ । शुक्रवार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद्मा परेर मृत्यु भएका परिवारलाई दुर्घटना बीमा बापत दुई लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सामूहिक विपद् दुर्घटना बीमा अन्तर्गत राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।

यस्तै, घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था मिलाउने भएको छ । परिषद्ले वर्षाका कारण कृषिबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी कृषकलाई क्षतिपूर्ति दिने पनि निर्णय गरेको छ ।

यस्तै, प्रदेश सरकारले अवरुद्ध भएका सडक, सिंचाइ, खानेपानी र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने निर्णय भएको जनाएको छ । पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनःस्थापना गरिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *