नेपाली सञ्चारमाध्यममा महिला पत्रकारले सामना गर्ने चुनौती र समस्या – Dcnepal

नेपाली सञ्चारमाध्यममा महिला पत्रकारले सामना गर्ने चुनौती र समस्या

काठमाडौं। नेपाली पत्रकारिताको सुरुवातले करिब एक शताब्दी पार गरिसकेको छ। वि.स. १९०८ मा जंगबहादुर राणा बेलायतबाट फर्कँदा ल्याएको फलामे हाते प्रेसबाट छापाको सुभारम्भ भएको हो। पत्रकारिता सुरुवातले शताब्दी नाघे पार गरे पनि सुरुवाती वर्षमा पत्रकारिता निकै सुस्त गतिले अघि बढेकाे देखिन्छ।

साहित्यकार मोतिराम भट्टले भारतको बनारसबाट वि.सं. १९४२ मा गोर्खा भारत जीवन नामक नेपाली भाषाको पत्रिका प्रकाशन गरे र यस कदमले पत्रकारिता विकासमा ठूलो योगदान पुर्‍यायो। त्यस लगत्तै वि.स. १९५५ मा नेपालको पहिलो पत्रिका सुधासागर प्रकाशनमा आयो।

‘सुधासागर’ पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित ‘गोर्खा पत्र’ वि.स. १९५८ वैशाख २४ गतेदेखि प्रकाशनमा आयो। सुरुमा साप्ताहिक रुपमा प्रकाशन भएको यस पत्रिकाले नेपाली पत्रकारिताको जग स्थापित गरेको छ । नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृतिको विकास र स्यम् पत्रकारितामै पुस्ताहस्तान्तरणमा यसको अतुलनीय योगदान रह्यो।

छापाखाना विकास नै ढिलो गरी भएको हाम्रो देशमा पत्रकारिताको लागि सहज वातावरण नरहेको इतिहासबाट प्रष्ट हुन्छ। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि भने देशको पत्रकारिता जगतमा नया आयाम थपियो। विभिन्न आरोह अवरोह पार गर्दै नेपालको पत्रकारिता वर्तमान मुकामसम्म आइ पुगेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यको प्रमुख तीन अंग हुन्। यस्तै संविधानमा राज्यको चौथो अंगका रूपमा प्रेस अर्थात् पत्रकारितालाई व्यवस्था गरिएको छ।

तर, विडम्बना द्शको जनसंख्याको आधा हिस्सा आगट्ने महिलाको अहिले पनि नेपाली पत्रकारितामा उपस्थिति न्यून छ। नेपाली पत्रकारिताको इतिहास र वर्तमान हेर्दा महिला पत्रकारको संख्या एकदमै थोरै पाइन्छ। कतिपयले वि.सं. १९८० देखि नै नेपाली महिला पत्रकारितामा संलग्न हुन थालेका हुन् भन्ने गरेपनि प्रमाणले २००८ साल जेठमा नेपाल महिला संघले प्रकाशित गरेको ‘महिला’ मासिकबाट नै नेपालको पत्रकारितामा महिलाको सहभागिता भएको देखिन्छ।

नेपाली पत्रकारिताको इतिहासमा महिला पत्रकारको जन्म २००८ सालमा ‘महिला मासिक’ बाट शुरु भयो हो। यसको प्रकाशनद्वारा महिलाहरुलाई यस क्षेत्रलाई पेशा बनाउन एउटा ऐतिहासिक प्रेरणा दिएको मानिन्छ।

मुलुकमा प्रजातन्त्रको बहाली भएसँगै पत्रकारितामा महिलाको सहभागिता क्रमशः बढ्दै गयो। त्यसपछि महिला हकअधिकार तथा महिलाका विविध मुद्दामा प्राथमिकताका साथ कलम चलाउन ‘अस्मिता’ जस्ता पत्रिकाहरुको शुरुवातले प्रमुख भुमिका निभायो। विशेषगरी महिलामाथि हुने दमन र हिंसाका विरुद्ध कलम चल्ने सो पत्रिका प्रकाशनपश्चात यस क्षेत्रमा महिला पत्रकारको संख्या पनि बढ्दै गयो।

नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार देशभर कार्यरत कुल १३ हजार ५० जना पत्रकारहरुमध्ये १८ प्रतिशत अर्थात दुई हजार ३५४ जना महिला पत्रकार छन्। यसले पनि महिला पत्रकारको विगत र वर्तमानलाई उजागर गरेको छ। अझ पुरुषको तुलनमा सञ्चार संस्थाको नेतृत्व तहमा त झन महिलाको सहभागिता अत्यन्तै न्यून छ।

पुरुषप्रधान समाज र पितृसत्तात्मक सोचका कारणले गर्दा पनि नेपालमा महिला पत्रकारको सहभागिता न्यून रहेको महिला अधिकारकर्मीहरु बताउँछन्। यद्यपी पछिल्लो समयमा मिडिया क्षेत्रमा महिलाको सहभागिता क्रमिक रुपमा बढ्दै जानुलाई भने सकारात्मक संकेतका रुपमा लिन सकिन्छ।

महिला पत्रकारका समस्या र चुनौती

नेपाली महिलाहरु निकै लामो समय चुलो र चौकोमा नै सीमित रहे। तितो यथार्थ आज पनि महिलालाई घरायासी काममा नै सीमित रहनु पर्ने सोचबाट नेपाली समाज ग्रसित छ। लामो समय कान्तिपुर दैनिकमा काम गरेका विद्या राईको भोगाई पनि यस्तै छ। आफूले भोगेका समस्या सुनाउँदै उनले भनिन्, ‘मैले मोफुसलमा बसेर लामो समय काम गरे। काठमाडौं केन्द्रित रहेको नेपाली पत्रकारितामा मोफसलमा बसेर त्यो पनि महिला पत्रकारलाई अझ धेरै चुनौति र समस्या छन्।’

‘मैले भोजपुरमा हुँदा त्यहाँ बसेर रिपोर्टिङ गर्दा समाजले महिलाहरुले बाहिर निस्केर काम गरेको भन्थे। तर, यो क्षेत्रमा बाहिर हिड्ने, डुल्ने काम भएकोले र समाजले मन नपराउनु नै पहिलो चुनौती थियो। पुरुषहरुसँग जानु पर्ने, महिला थेरै मात्र हुन्थ्यो। र, पुरुष मान्छेहरुसँग संगत गर्दा समाजले छुटै खाले नजरले हेर्ने, आम महिला पत्रकारहरुले भोगिराखेकै हुन्छन्। अर्को कुरा एक्दमै व्यावसायिक समस्या भनेको हामी महिलाहरुलाई प्रशिक्षणको अवसरहरु एक्दमै कम हुने, र मौका दिन नखोज्ने।’ तालिम, प्रशिक्षण र अभिमुखिकरणमा पनि पुरुष पत्रकारहरु नै हावि हुने कुरा उनले सुनाइन्।

यस्तै समाचार छापिसकेपछि पनि कहिलेकाहीँ धाक धम्की सहने जोखिम लिने आँट पनि कमै महिलाले गर्छन्। इज्जत र अस्मिताको धम्की महिला पत्रकारले भोगिरहने समस्या हुन्। खासगरी महिला भएकै कारण पुरुष पत्रकार अर्थात ठूला पत्रकारहरुले विश्वास नगर्ने, जिम्मेवारी दिन नखोज्ने, रिपोर्टिङहरु पनि एक्दमै हल्का खाले दिन खोज्ने यसको मतलव अवसर नदिदा पनि महिलाहरु पत्रकारितामा दबिएका छन्।

यस्तै कोभिड–१९ पछि र अघिको पत्रकारिता र यसमा महिलाले भोगेको चुनौती फरक भएको डिसी नेपालका सम्वाददाता रीता बस्नेतको अनुभव छ।उनले भनिन्, ‘पत्रकारिता आफैंमा लैङ्गिक रूपमा बुझ्न र बुझाउन नमिल्ने मेरो मान्यता हो ।समाजले बनाइदिएका केही सामाजिक मापदण्ड र प्राकृतिक रूपमा महिलाले पाएका जिम्मेवारीका कारण पत्रकारितामा महिला–पुरूष भन्नु परेको हो।’

‘कोभिडका कारण अरू क्षेत्रमा जस्तै यसमा पनि ठूलो असर पुग्यो। त्यसको पहिलो प्रत्यक्ष मारमा महिला पत्रकार नै परे। घरबाट काम गर्नु भन्दै हाकिमको निर्देशन पालना गरेका महिलाले जागिर पाएको पत्तो समेत पाएनन्। कतिपयले घरमा बसेर काम गरे तर तलब पाएनन्। महिला पत्रकारले काम गर्ने वातावरण पनि सुरक्षित बन्न सकेको छैन। असुरक्षाको अर्थ बलात्कार नै हुनुपर्छ भन्ने छैन्। महिला थोरै भएका कारण सहकर्मीको लवज या चालढालले पनि महिलाले असुरक्षा महसुस गर्न सक्छन्। भौतिक बाहेक जागिरको असुरक्षा अर्को अप्ठयारो पाटो हो।’

हिंसा भनेको हातले कुटपिट गर्नुमात्रै नभएको र बोलीले नै पनि हिंसा हुने कम्युनिकेसन कर्नरका निर्देशक मोन्टेश्वरी राजभण्डारी बताउँछिन्। यसमा महिला आफैं पनि संयमित हुनु पर्ने उनको भनाइ छ।

‘घरबाट निस्किसके पछि हामी महिलाहरुले सबै समस्याहरु भोग्नु नै पर्छ। आफन्तका हुन्छन्, टोल छिमिकका हुन्छन्, हामी स्थानीय भइसके पछि त झन् बुवाआमाहरुलाई सुनाइएको हुन्छन्। महिलाले भोग्ने भनेको पहिलो चुनौती भनेको उसलाई विश्वास गरिँदैन। पुरुषले लेखेको समाचारलाई ताली पिट्ने, तर महिलाले त्यही समाचार लेख्दा महिलाले पनि समाचार लेख्ने भनेर खिसी गर्ने कुराहरु सुनिने गर्छ।’

महिला पत्रकार हिंसाका घटनामा बढ्त्तोरी 

पछिल्ला वर्षहरुमा महिला हिंसाका घटनामा बढ्त्तोरी भइरहेको नेपाल पत्रकार महासंघको तथ्यांकले देखाउँछ। महिला पत्रकारहरुले आफ्नो चरित्र हत्या हुने कार्य भयो भनेर प्रेस काउन्सिलमा उजुरी दिने गरेका छन्। नेपाल प्रेस काउन्सिलका   प्रवक्ता  दीपक खनालका अनुसार यस आर्थिक वर्षको साउन यता मात्रै ८० बढि केसहरु दर्ता भइसकेका छन्।

महिला सहभागिता र समस्याको हल

नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेता पनि समान सहभागिता र समावेशिताको वकालत गर्ने सञ्चारमाध्यमले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सकेका छैनन्। त्यसैगरी अधिकाँश सञ्चार गृहमा स्पष्ट लैङ्गिक नीतिको अभावले पनि सञ्चारमा महिलालाई टिक्न सकिरहेका छैनन्।

यसको लागि संविधान प्रदत्त पायको अधिकार कार्यन्वयनमा भएमा नियमनकारी निकायको ध्यान जान जरुरी देखिन्छ । यस्तै सञ्चार क्षेत्रमा महिला सहभागिता बढाउन पारिश्रमिक ऐन समेत परिवर्तन गर्नुपर्ने जानकारहरु बताउँछन्। यसका लागि राज्यले बलियो नीति बनाएर कार्यान्वयनमा लानुपर्ने क्रियाशील महिला पत्रकार समूहका अध्यक्ष अम्बिका राजथलाको धारणा छ।

सञ्चारमा सहभागिता बढाउन पत्रकार महिलाहरुको भौतिक र पेशागत सुरक्षा पनि उत्तिकै जरुरी हुन्छ। सञ्चारसम्बन्धी हरेक नीति निर्माण तहमै महिलाको प्रतिनिधित्व भएमा महिला सहभागिता र पत्रकारितामा महिलाले भोगेका समस्या समाधान हुन सक्छन्।

अहिलेको आधुनिक युगमा महिला पत्रकारहरुलाई निरुत्साहित गर्न अनलाइन प्रविधि र सामाजिक सञ्जाल मार्फत पनि हिंसा हुँदैछ। यसको लागि बदलिदो समयसँगै नयाँ कानुन निमार्णदेखि कार्यन्वयन हुनुपर्छ। सञ्चार संस्था महिला–मैत्री नहुँदा विवाहित महिला पेशाबाटै पलायन हुन परेको विभिन्न अध्ययनले देखाएको छ। त्यसैले यस क्षेत्रमा समान व्यवहार, उचित पारिश्रमिक र महिला–मैत्री वातावरण आवश्यक छ।

‘महिला पत्रकारका समस्या समाधानमा प्रतिबद्ध’

सञ्चार क्षेत्रमा महिलालाई दिने जिम्मेवारी, कार्यस्थलको वातावरण, शारीरिक र पेशागत सुरक्षाका कारणले पनि पत्रकारितामा महिला सहभागितालाई प्रभाव पारेको विभिन्न अध्ययनले देखाउँछन्। महिलाहरुलाई सकेसम्म सक्षम बनाउनु पर्छ भनेर प्रोत्साहन गर्ने, उनीहरुलाई पुरस्कृत गर्ने जस्ता नीति तथा कार्यक्रम बनायर कार्यन्वयन भइरहेको नेपाल पत्रकार महासंघले बताएको छ।

महिला सहभागितलाई बढाउने प्रयास भलै ढिलो भए पनि दीर्घकालीन प्रभाव पार्ने नीति तथा कार्यक्रम बनिरहेको नेपाल पत्रकार महासंघका पूर्व सचिव लक्ष्मी पुन बताउँछिन्। महिलाहरुलाई यस पेशाबाट पलायन हुन् नदिन, अथवा यो क्षेत्रमा महिलाहरु ल्याउन भनेर स्कूल, क्याम्पस, जिल्लामा आचारसंहिता सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो