फागुन १४ गते स्ववियू निर्वाचन कति सम्भव ?

सम्भव सिंह ठकुरी
१६ कार्तिक २०७८ ७:२६

काठमाडौं। २०७३ मा केही क्याम्पस बाहेक २०६५ देखि विद्यार्थी संगठनहरुको छाता संगठन स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)निर्वाचन हुन सकेको छैन। त्यसयता पटक-पटक स्ववियू निर्वाचनको मिति तोकेपनि कहिले विद्यार्थी संगठनबीच कुरा नमिल्दा त कहिले कोरोना भाइरसको कारणले निर्वाचन हुन सकेको छैन।

पछिल्लो समय गत वर्ष चैत ९ गते नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समिति र(त्रिवि) को पदाधिकारीले यही वर्षको जेठ ३० गते स्ववियू निर्वाचन गर्ने सहमति भएको थियो।

तर विश्वमहामारी कोरोना भाइरसको दोस्रो लहरले देशभरै आक्रान्त बनाएपछि सो कार्यतालिका स्वभाविक रुपमा प्रभावित हुन पुग्यो। तर फेरि कात्तिक १४ गते (सोमबार) अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आउँदो फागुन १४ गते स्ववियू निर्वाचन गर्न माग राखेको छ।

आइतबार अनेरास्ववियुका अध्यक्ष सुनिता बरालसहितको टोलीले त्रिवि उपकुलपति डा.धर्मकान्त बाँस्कोटालाई भेटी तत्काल निर्वाचनको कार्यतालिका सार्वजानिक गर्न माग गर्दै, लिखित ज्ञापन पत्र बुझाएको छ। त्यतिमात्र नभएर कोभिड १९ समयमा विद्यार्थीहरुबाट लिएका सम्पूर्ण शुल्कहरु फिर्ता गर्न पनि माग राखेको छ।

गत असोज २ गते अनेरास्ववियुको केन्द्रीय सचिवालयको पूर्ण बैठकले बराललाई अध्यक्षको जिम्मेवारी दिएको थियो। अनेरास्ववियुको नेतृत्वका बराल नेतृत्वमा आएसँगै डिसी नेपालसँगको कुराकानीमा पनि उनले लामो समयदेखि हुन नसकेको स्ववियू निर्वाचन गराउने नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी थिइन्।

यतिबेला स्ववियु निर्वाचनको लागि अनेरास्ववियुले लिखित ज्ञापन पत्र बुझाएपनि निर्वाचनको पक्षमा नेविसंघ र अखिल (क्रान्तिकारी) पनि रहेका छन्।

‘अखिल (क्रान्तिकारी) स्ववियु निर्वाचनको पक्षबाट कहिल्यै भाग्दैन। हामी हिजोपनि निर्वाचनको पक्षमा थियौँ र आज पनि निर्वाचनकै पक्षमा छौँ,’ अध्यक्ष पञ्चा सिंहले भनिन्। अखिल (क्रान्तिकारी) संधै विधिवत् निर्वाचनको पक्षमा रहेको उनको तर्क छ।

अहिले अनेरास्ववियुले स्ववियु निर्वाचनको माग गरेको छ। यस्तो कुराको हामी सधैं स्वागत गर्छौँ,’उनले भनिन्, ‘बाहिर स्ववियुको नारा लगाउने भित्र नाटक मञ्चन गर्ने अनेरास्ववियुको बिगतको चरित्रको कारणले गर्दा नै बिगतमा पनि चुनाव हुन सकेन।’

बिगतमा पनि अखिल (क्रान्तिकारी) ले निर्वाचनको माग गर्दा सत्ताको दुरुपयोग गरेर तत्कालीन अनेराीस्ववियु अध्यक्ष ऐन महरले त्रिवि पदाधिकारीसँग मिलेमतो गरि निर्वाचन भाँडेको समेत उनको आरोप रहेको छ। त्रिविका पदाधिकारीहरु दलीय भागबण्डामा छनोट हुनाले पनि दल र संगठनको स्वार्थ र आफू अनुकूलको काम हुने भएकाले बिगत देखि नै स्ववियु निर्वाचन प्रभावित हुँदै आएको सिंहको तर्क रहेको छ।

‘अहिलेका त्रिवि पदाधिकारीहरु तत्कालीन केपी ओली नेतृत्वको सरकारमा नियुक्त भएकाले अनेरास्ववियुले निर्वाचनको नारा लगाएको हो। तर,पनि हामीहरु जुनसुकै समयमा निर्वाचनमा जान तयार छौँ,’ उनले भनिन्। यद्यपी अझैपनि अनेरास्ववियुले नै निर्वाचन विथोल्ने कुरामा आशंका रहेको उनको भनाइ छ।

‘लामो समय सम्म स्ववियु निर्वाचन हुन नसक्दा काठमाडौं विश्वविद्यालय बाहेक सबै विश्वविद्यालय अस्तव्यस्त भएको छ। विशेषतः त्रिविको सबै संकायको विद्यार्थीहरु मारमा परेका छन्,’ सिंहले भनिन्, ‘त्यसकारण त्रिवि र अन्य विद्यार्थी संगठनले नाटक मञ्चन गरेनन् भने फागुनमा निर्वाचन गर्न सम्भव छ। हामी निर्वाचन नै चाहन्छौं। स्ववियू नभएकै कारण विद्यार्थीका मुद्धाहरु ओझेलमा परेका छन्। नियमित विद्यार्थीको आवाज गर्न संस्थागत गर्न पनि निर्वाचन आवश्यक छ।’

नेविसंघका अध्यक्ष राजिव दुङगाना पनि नेविसंघ निर्वाचन बाट कहिल्यै नभाग्ने बताउँछन्। ‘हामी त फागुनमा हैन यही महिना निर्वाचन हुन्छ भनेपनि तयारी छौँ,’ ढुङ्गानाले भने, ‘हामीले बिगतमा पनि चुनाव भनेका छौँ र अहिले पनि भनिराखेका छौँ।’

उनले भने,‘अनेरास्ववियुले फागुन १४ को माग गर्नुभनेको नियमित प्रक्रिया अनुसारको मिति भएकाले माग गरेको हो। तर हामी जहिल्यैपनि चुनाव गर्ने पक्षमा छौँ।’ त्रिविले यो वर्ष चुनाव गराउने पहल गर्‍याे भने नेविसंघले सहजताको भूमीका खेल्ने उनको तर्क रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *