‘आफ्नो बाउलाई हेला गर्ने अरुलाई बा भन्नी ?’ – Dcnepal

‘आफ्नो बाउलाई हेला गर्ने अरुलाई बा भन्नी ?’

काठमाडाैं।

‘यो दिनमा पनि मान्छेको जातले, बुझेन कुरा त ।
अधुरो भयो यो मेरो विचार, भएन पूरा त ।
आफ्नो बाउलाई हेला गर्ने, अरुलाई बा भन्नी ?
चितुवाको छेउमा गएर, आफ्नो हातलाई खा भन्नी ?
जन्माउने बाउ त एउटै पो हुन्छ, हुँदैन कोही पनि ।
कति पो जना हुन्छन र?, हाम्रा आमाका पोई पनि ।।’,

यसरी सररर कविता भन्दै फररर तरिकाले प्रष्ट गफ गर्दा जो कोही एकछिन उभिएरै भएपनि सुन्ने गर्छन्, शारीरिक अपाङ्गता भएका व्यक्ति बालकृष्ण घिमिरेलाई ।

कविता भनिसकेपछि जिज्ञासुलाई कविताबारे प्रष्ट्याउँदै उनी भन्छन्, ‘हामी यताउताका अरु वृद्धलाई बा भन्छौं । बा कतिवटा छन् र हाम्रा ? अंकल, काका, मामा, सोल्टी, ब्रो, गाइज, पासा अरु जे भन्दा पनि हुँदैन र? तर, बा त होइनन नि ? मलाई त कसैले बा भन्छ भने त्यो घृणा लाग्ने शब्द हो । बरु हजुरबा भन्नुस्, भन्छु । अरुलाई हामी गिरेर बा भन्ने? हाम्रा बा त एउटै हुन्छ नि । त्यसैले जोकोहीलाई जसले पनि बा भन्ने रुढीबाढीलाई तोड्न खोजेको हो मैले यो कवितामार्फत ।’

सारङ्गी, बाँसुरी बोकेर स्कुटरमाथि बसिराखेका घिमिरे कविता भन्न र गीत गाउन खप्पिस छन् । उनीसँग गफिन रुचाउनेहरुको आग्रह अनुसार उनी धुनसँगै गीत गाउने र बिनाधुन कविता सुनाउने गर्छन् ।

बाटोमा हिँड्दा आफ्नो प्रेसर नाप्न रुचाउने इच्छुक व्यक्तिका लागि उनले प्रेसर नाप्ने मेशीन पनि बोकेका छन् । साथै, स्कुटर नजिकै वेट मेशीन (मान्छेको वजन नाप्ने मेशीन)समेत राखेका छन् ।

उनी भन्छन्, ‘यहाँ बसेर ब्लडप्रेसर चेक गर्ने, वेट नाप्ने काम र सारङ्गी, बासुरी बजाएर गीत गाउने गर्छु र इच्छाले दिएको पैसा लिन्छु ।’
‘मान्छेको वेट नापेको कति लिनुहुन्छ?’, भन्ने जिज्ञासामा उनी भन्छन्, ‘मैले यति भनेर पैसा तोकेको छैन, जति दिए पनि लिने गरेको छु ।’

फरासिला उनी घरिघरि अंग्रेजीसमेत फररर बोल्छन् । ‘कति पढ्नु भएको छ?’, भन्ने जिज्ञासामा उनी फररर अंग्रजीमै भन्छन्, ‘म एजुकेटेड होइन तर फुर्सदको समयमा इङ्लिस, चाइनिज, कोरियन लगायत भाषाको प्राक्टिस गर्छु र थोरैथोरै बोल्छु ।’

इकुडोलमा घर भएको बताउने घिमिरे हाल बागडोलमा ७ हजार कोठा भाडा तिरेर परिवारसँग बस्दै आएको सुनाउँछन् । उनी भन्छन्, ‘कोठामा श्रीमती र दुई जना छोरा छन् । एउटा छोरा प्लस टु गरेर बसिराखेको छ, अर्को ५ कक्षामा पढिराखेको छ । श्रीमतीले कोरोना आउनु भन्दा अगाडि काम गर्थिन् । अहिले केही पनि छैन, कोठामै बस्छिन् । ठूलो छोरालाई १२ कक्षा पढुन्जेलसम्म एउटा संस्थाले हेरेको थियो । सानो छोरालाई पनि एक ठाउँबाट पढाइदिन्छु भनेका छन्, जहाँसम्म पढाइदिन्छन् भन्ने लागेको छ ।’

आफूलाई पोलियो भएको बताउने उनी भन्छन्, ‘मेरो जन्मजातै यस्तो हो, पोलियो भएको हो । पोलियो हुनेलाई आ–आफ्नो किसिमको समस्या हुन्छ तर म त पुरानो धरहरा चढेको मान्छे । हात टेकेरै चढेको हो ।’

अपाङ्गता भएका व्यक्तिहरुलाई आफूले जस्तै सकेको सानोतिनो व्यापार व्यवसाय गरेर खाए हुन्थ्यो जस्तो लाग्ने गरेको बताउने उनी सबै मान्छे कर्मशील हुनुपर्ने सुझाउँछन् ।

उनी भन्छन्, ‘अरुले पनि म जस्तै गरी खाउन् भन्छु तर उनीहरुलाई लाज लाग्छ रे । मेरो त छुट्टै विचार, भावना छ । मैले यसरी बाटोमा बसेर गरेको १६ वर्ष भयो । पहिला पहिला गलैचा बुने, जागीर पनि गरे । अहिले यो गरेर पनि कमाइराखेको छु, सन्तुष्टि नै छु ।’

श्रीमती र दुई छोरा मज्जाले काम गरेर पालिराख्नु भएको रहेछ?, भन्ने जिज्ञासामा उनी भन्छन्, ‘मैले मात्र पालेको होइन । अरुले नै पालिदिइराखेका छन् । अरुले यहाँ आएर सहयोग नगरिकन मैले कसरी पाल्ने ? त्यही भएर म आफैले पालिराखेको छु भनेर भन्दिन । तपाईहरुले २–४ पैसा दिएपछि मात्रै मेरो हुने हो । त्यसकारणले गर्दा मैले मात्र भन्न मिल्दैन, सबैले भन्नु पर्छ । सबैले गर्दा मेरो परिवार पालिएको छ।’

उनी भन्छन्, ‘म बेत, बाँसका सामग्री बुन्ने काम सबै गर्छु । अगरबत्ती, मैनबत्ती, खाम, फाइल हरेक बनाएको सर्टिफिकेट पनि छन् । सबै थन्काएर राखेको छु । मसँग यो ब्लडप्रेसर(प्रेसर नाप्ने देखाउँदै) चेक गर्नेको सर्टिफिकेट छैन, बरु यसलाई अहिले प्रयोग गरी कमाइराखेको छु।’

पहिला पहिला स्कुटर नहुदा चार हातखुट्टा टेकेर हिड्ने गरेको बताउने उनलाई सोही स्कुटर सम्बन्धमा सोध्दा भने यसो भन्छन्, ‘स्कुटर आफैले चलाउछु, धेरै वर्ष अघि रहर गर्दागर्दा भर्खर लिएको हो ।’

उनका अनुसार अहिले उनी तीनचक्के स्कुटर चलाएर मान्छेको अलि बढी चहलपहल हुने ठाउँमा जान्छन् र आफ्नो व्यापार व्यवसाय गर्छन् । उनी भिख माग्दैनन् तरपनि इच्छुक व्यक्तिले उनको झोलामा केही पैसा हालिदिने गर्छन् । उनी पछिल्लो समय जावालाखेल आसपासमा बसेको १० वर्ष भएको बताँउछन् ।

उनी आफ्नो दैनिक कमाइबारे भन्छन्, ‘मेरो कमाई निश्चित हुँदैन । कहिले त सय–डेढ सय पनि हुँदैन । नयाँ वर्षमा ६ हजार पनि भयो, एकैदिनमा । म कमाउन पाइन भन्ने भावना राखेर चित्त दुखाउदिन । नभए पनि चिन्ता लाग्दैन र यति कमाउन पाए हुन्थ्यो भन्ने पनि लाग्दैन ।’

अपाङ्गसम्बन्धी संघ संस्थाले सहयोग गर्ने सम्बन्धमा भने उनी भन्छन्, ‘संघ संस्थालाई त म ठगी खाने भाँडो भन्छु । मैले मूल्यांकन गरेको छु, त्यसैले सबैलाई राम्रो भन्न चाहन्न म ।’

अपाङ्गता भएको व्यक्तिलाई विशेषत अपाङ्गता भएका व्यक्ति तथा अपाङ्गसम्बन्धीका संघसंस्थाले सहयोग गर्नुपर्ने हो तर स्वयम् उनीहरुले खासै सहयोग नगरेको गुनासो गर्छन् ।

नेपालको राजनीतिमा सुधार भएमात्र देश र देशका मानिसको दयनीय स्थितिमा परिवर्तन हुने बताउँछन् । उनी नेपालका प्रत्येकले चाइनाका मान्छेले गरेजस्तै सिर्जनशील भएर काम गरेदेखि देशमा भएका सबैको आर्थिक अवस्थामा सुधार हुने सुनाउछन् । साथै, रुढीवादी परम्परा जबसम्म हट्दैन तबसम्म नेपालको हरेक क्षेत्रमा सुधार नआउने बताउँछन् ।

कुरा गर्ने सिलसिलामा उनी पुनःकविता भन्न सुरु गर्छन् ।
‘फेसबुक चलाउनु नराम्रो होइन, गर्छन गाठे ओभर ।
गिदी जति सबै भाइसरले खायो दिमागमा गोबर ।
चटपटे पसल खानलाई असल व्यापार त ८० को ।
फेसबुकले गर्दा पिरतीले मर्दा माया त बसि गो ।
एउटा को बुढी अर्कोले लाने फेसबुकको कमाल ।
मन तिम्रो साह्रै चन्चल छ भने मनलाई समाल ।।’,

उनी देशमा यही भइरहेकोले कविता लेखेको बताउछन् । समसामयिक घटनासँग मिल्दाजुल्दा कविता भन्न खप्पिस उनको कविता सुनिसकेपछि उनलाई औल्याउँदै एक व्यक्तिले भने, ‘उहाँले कविताको किताबनै निकाल्नु भएको छ ।’ त्यतिनै बेला घिमेरे भन्छन्, ‘बजारतिर भने छैन, ‘२०७२ को विनाशकारी भूईंचालो’ भन्ने किताब छ । अब कोरोनाको पनि किताब निकाल्छु भन्ने विचार छ ।’

आफूले अपाङ्गताको पीडा बुबादेखि नै भोग्दै आएको बताउने उनी अहिले आफूले गरिखाएकाले बुबालाई धन्यवाद भन्ने गरेको बताउछन् । उनी भन्छन्, ‘बाले उबेला हेला नगरेको र चित्त दुख्ने कुरा नभनिदिएको भए त अहिले म गाउँको कुनामै थुप्रिरहन्थे । भनेकाले अलिकति जोस आयो र गरि खाएको छु ।’

संघर्षशील जीवनको सिलसिलामा आफूले सपाङ्ता महिलासँग विवाह मुस्किलले गरेको सुनाउँछन् । उनी भन्छन्, ‘मैले विवाह बल्लबल्ल ३५ वर्षको उमेरमा गरे । मागेरै बिहे गरे है । कतिले, त जस्तो अपाङ्गले पनि केटी पाउछस र भन्थे । तर सपाङ्ग राम्रो मान्छेसँगै बिहे पनि भैगयो । तर म बिहे गरेर ठूलो मान्छे भए चाहीँ भन्दिन । मेरी श्रीमती मभन्दा १८ वर्षले कान्छी छिन् ।’

सपाङ्ग र अपाङ्ग सबै मान्छे कर्मशील होउन भन्ने लाग्ने गरेको बताउने उनी आफ्नो बारे भन्छन्, ‘मलाई मान्छेले खुट्टा छैन, लाटो छ भन्ने सोच्छन् । तर, त्यस्तो होइन, मेरो दिमाग, सोच्ने शक्ति छ । म त कतिपयलाई मेरो त खुट्टा अपाङ्ग हो, तपाईको त दिमाग अपाङ्ग हो, खुट्टाको अपाङ्गले केही गर्दैन दिमागको अपाङ्गले बिगार्छ भनेर भनिदिन्छु ।’

सधैँ काममा क्रियाशील हुँदाहुँदै पनि कहिले काहीँ भने साह्रोगाह्रो पर्ने गरेको सुनाउँदै उनी भन्छन्, ‘मलाई अहिले अरु कुरामा गाह्रो छैन कहिले काहीँ कोठाभाडा तिर्न गाह्रो हुन्छ । अर्को म लेजी(अल्छी) छैन, क्लेभर नै हुन चाहन्छु । अल्छि गर्ने मान्छे मलाई मन पर्दैन ।’

सबैजना बुद्धिमान, ज्ञानी, गरिखाने हुन भन्ने आफूलाई लाग्ने गरेको भन्दै उनी भन्छन्, ‘यो ललितपुर जिल्लाभरि छुट्टै विचार चाहीँ मेरै होला है । सबै अगाडि बढुन्, अल्छी नबनुन, फेसबुक चलाएर मान्छे नबिग्रिउनु भन्ने लाग्छ।’

देश राम्रो भए जनता सुखी र खुशी हुने थिए भन्दै अन्त्यमा उनी थप्छन्, ‘पत्रकार क्षेत्र राम्रो विचार तिर जाओस्, पत्रकार साथीभाईहरु पनि राम्रो अवस्थामा चलुन, सरकार पनि राम्रो होस् । हामी सबैलाई गणतन्त्र आए जस्तो महसुस होस्।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो