गोदावरी पुष्प मेलामा ८० लाखको कारोबार, ३७ हजारद्वारा अवलोकन

रिता बस्नेत
१६ कार्तिक २०७८ १४:०६

काठमाडौं । यस वर्षको ‘१४औँ गोदावरी पुष्प प्रदर्शनी–२०७८’ अपेक्षा गरेभन्दा बढी कारोबार भई सोमबार साँझ सकिएको छ । फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष मिन बहादुर तामाङका अनुसार यस वर्षको मेलामा ८० लाखको हाराहारीमा कारोबार भएको र ३७ हजार उपभोक्ताले अवलोकन गरे ।

मेला अपार सफलताका साथ अपेक्षा गरेको भन्दा धेरै कारोबार भएको खुशी व्यक्त गर्दै अध्यक्ष तामाङले भने, ‘यस मेलाबाट ५० लाखको हाराहारीमा कारोबार हुने र ३५ हजार उपभोक्ताले अवलोकन गर्नुहुने अपेक्षा गरेकोमा ८० लाखको हाराहारीमा कारोबार भयो र ३७ हजार जति उपभोक्ताले अवलोकन गर्नु भयो ।’

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’, भन्ने नाराका साथ भएको यस वर्षको गोदावरी पुष्प मेलाको उद्घाटन कात्तिक १२ गते भएको थियो । ४ दिन चलेको मेला कात्तिक १५ गते साँझमा समापन गरिएको थियो ।

अध्यक्ष तामाङका अनुसार छोटो समयावधिमा आयोजना गरिएको यस वर्षको मेला आयोजना गर्ने सम्बन्धमा एक महिना अगाडि मात्र फूल व्यवसायीहरुबीच सल्लाह गरेर तय भएको हो ।

उनले कोभिडको संक्रमणदर बढ्दो अवस्था भएकाले ६ महिना अगाडि तय गर्नु पर्ने मेला एक महिना अगाडि मात्र तय गरेको बताए ।
उनले भने, ‘एक महिना अगाडि मात्र व्यवसायीहरुलाई बोलायौं र प्रदर्शित गर्ने खालका विरुवाहरु छ छैन भनेर सल्लाह गर्यौ । उहाँहरुसँग प्रदर्शनी गर्ने खालका विरुवा प्रशस्त भएकाले व्यवसायीहरुकै मागनुसार र उपभोक्ताको आग्रहनुसार गत असोजको पहिलो हप्तातिर ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई मेला आयोजनाको अनुमति माग्यौं । र, उहाँले स्वास्थ्य मापदण्ड पालना गरेर मेला संचालन गर्न अनुमति दिएपछि व्यवसायीलाई तत्काल सूचना जारी गरी मेला आयोजना गरेका हौं ।’

२०५३ सालदेखि लगातार रुपमा हुँदै आएको गोदावारी फूलको प्रदर्शनी प्राय दसैँ र तिहारको बिचमा हुने गर्छ । तर राजनीतिक उथलपुथलका कारण २०६३ सालमा भने यो मेला भएको थिएन । अध्यक्ष तामाङका अनुसार गतवर्ष पनि कोरोना संक्रमण दर उच्च रहेकाले मेला हुन सकेको थिएन ।

कोभिडका कारण दुई वर्षपछि भएको यस पटकको मेलामा भने उपभोक्ताहरुको धेरै भिड लागेको थियो । कोभिडले गर्दा फूल व्यवसायीलाई व्यवसाय गर्नको लागि गोदावरी फूल रोप्ने नरोप्ने अन्योल भएकाले प्रदर्शनीमा गोदावरीको फूलको भेराइटीको प्रतिस्पर्धामा कमी आएको अध्यक्ष तामाङले बताए ।

त्यही भएर यस वर्षको गोदावरी फूलको चार वटा भेराइटीमा गरिने पुरस्कारमा असर परेको थियो । र, यस वर्षको गोदावरी फूलको विभिन्न विधामा गरिने पुरस्कारमध्ये उत्कृष्ट स्टललाई मात्र पुरस्कृत गरिएको थियो ।

यसवर्ष ‘थापा नर्सरी’ पुरस्कृत भएको छ । उत्कृष्ट सजावटमा परेको थापा नर्सरी नगद १५ हजार र प्रमाणपत्रसहित पुरस्कृत भएको हो ।
खासगरी गोदावारी फूलको विकास, विस्तार र प्रवद्र्धन गर्नलाई हरेक वर्ष गोदावरी पुष्प प्रदर्शनी हुने गर्छ । यस पटक ४४ वटा व्यवसायिक कारोबार गर्ने स्टलहरु र ४ वटा सूचनामूलक स्टलहरु गरी मेलामा ४८ वटा स्टलहरु थिए ।

यस पटकको मेलामा ९० प्रतिशत विरुवाहरु नेपालकै उत्पादनको विरुवाहरु भएको र १० प्रतिशत आयातित विरुवाहरु रहेको अध्यक्ष तामाङले बताए । त्यसमा ६० प्रतिशत फूलहरु गोदावारी फूलको कारोबार भएको र ४० प्रतिशत अन्य फूलहरुको कारोबार भएको उनले जनाए ।

त्यसैगरी, १० प्रतिशत आयातित विरुवा भएकाले यसपटकको मेलामा आयातित विरुवा महङ्गो पर्न गएको उनले बताए । उनका अनुसार कोभिडको कारणले गर्दा धेरै फ्लाइटहरु बन्द भएकाले युरोपबाट आयात गरेको विरुवामा केही महङ्गो परेको हो ।

साथै, देशमै उत्पादन भएका विरुवाहरु भने तीन चार वर्ष अगाडिदेखि जुन दररेटमा बिक्री भइराखेको थियो, त्यहि रेटमा नै उपभोक्ताहरुलाई उपलब्ध गराएको उनले बताए ।

त्यस्तै, पुरस्कृत हुने थापा नर्सरीका संचालक कृष्णराम थापाले यस वर्षको मेला उत्साहजनक भएको बताए । किर्तिपुरमा ६ रोपनी जग्गामा २४ वर्षदेखि नर्सरी गर्दै आएका पुष्प व्यवसायी थापाले मेलामा दिनको १ देखि डेढ लाखसम्मको व्यापार गरेको बताए ।

उनले भने, ‘चार दिनमा मैले साढे ६ लाखको व्यापार गरेछु । मैले गोदावारीसँगै अरु प्लान्टहरु पनि राखेको थिए । कोभिडको कारणले व्यापार नहोला कि भन्ने आकलन गरेको थिए तर त्यो भन्दा फरक भयो । मान्छेको आगमन एकदमै धेरै भयो । यो मेलाबाट सबैजना व्यवसायीहरु उत्साहित हुनु भयो । सबैको व्यापार राम्रो भयो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *