प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा शपथ ग्रहण
काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीसँगै नवनियुक्त मन्त्रीहरुले पनि मंगलबार शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह आयोजना गरी मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएका राईलाई प्रदेश प्रमुख ‘प्यासी’ले आजै नियुक्त गरेका थिए ।
मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट २ र बाँकी दलबाट १\१ जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री राईले नेपाली काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली काँग्रेसका प्रमुख सचेतक रहेका नेता केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवगठित प्रदेश मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एक जना बाहेक सबै नयाँ अनुहारका मन्त्रीहरुले जिम्मेवारी पाएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment