कवि–साहित्यकारले मान्छेलाई बदल्न सक्नुपर्छः प्रा.डा.ज्ञवाली

डिसी नेपाल
१८ कार्तिक २०७८ ११:५२
24
Shares

काठमाडौं । कपन साहित्य समाजले आज(बिहीकार) आयोजना गरेको लक्ष्मीजयन्ती विशेष कविगोष्ठी, २०७८ मा नेपाली समाजले भोग्नुपरेको पारिवारिक बिखण्डन तथा श्रम र बौद्धिक पलायनप्रति चिन्ता व्यक्त गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका उपलक्ष्यमा समाजको भवन, यात्री स्मृति कक्षमा बिहान आयोजित कार्यक्रममा साहित्यकार–कविहरूलाई पतनोन्मुख समाजको चेतना उठाउनका लागि योगदान दिन आग्रह गरिएको हो ।

साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवालीले महाकवि देवकोटाले दलित, जनजाति र महिला उत्पीडनका विपक्षमा अभिव्यक्ति दिएको स्मरण गराउँदै साहित्यकारहरू देश र मानवप्रति गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

उनले भने, ‘हामी व्यक्तिवादी भयौं, राजनीतिक नेतृत्वमा चिन्तन हावी भयो, कम्युनिष्टहरु बुर्जुवा भए, अब कवि–साहित्यकारले आफूलाई मात्र उठाउन हैन, मान्छेलाई बदल्न सक्नुपर्छ ।’ साहित्यकार मित्रलाल पंज्ञानीले बौद्धिक जनशक्तिलाई विदेशतिर धकेल्ने शिक्षा प्रणालीमा सुधार हुनुपर्ने बताए ।

सो अवसरमा कवि ओमप्रसाद कोइराला, शैलेन्दुप्रकाश नेपाल, श्याम रिमाल, आरएम डङ्गोल, त्रिलोचन आचार्य, होमशङ्कर बाँस्तोला, डा.विष्णु केसी, बिसुकुमार केसी, विकल त्यागी, पवित्रा चिमौरिया, थरेन्द्र बराललगायतले गीत, मुक्तक र कविताका माध्यमबाट राजनीतिक विसङ्गति, कोरोना कहर, पश्चिम सभ्यताले भित्र्याएको विकृति, छाउगोठलगायत विषयमा आ–आफ्ना कविता वाचन गरेका थिए ।
त्यस्तै, साहित्यिक पत्रकार निबन्ध आचार्य र पत्रकार आशिष गुरागाईँले तिहारको शुभकामना दिएका थिए ।

सोही अवसरमा समाजका कोषाध्यक्ष हेमा अधिकारीले आफ्ना दिवङ्गत मातापिता सरस्वती र नन्दीकेशर दुलालका स्मृतिमा समाजको अक्षयकोष वृद्धिका लागि पाँच हजार पाँच सय रुपैयाँ समाजका अध्यक्ष गणेशकुमार मिश्रलाई हस्तान्तरण गर्नुका साथै हालै त्रिवि नेपाली विभागमा प्राध्यापकमा बढुवा भएका प्रा.डा.ज्ञवालीलाई बधाई ज्ञापन गरिएको थियो । समाजले निकट भविष्यमै ‘कपन दर्पण’ पत्रिका प्रकाशन गर्ने जनाएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *