गण्डकी एमाले जेठ २ मा फर्कियो, जम्बो कमिटी विस्तार, थपिए ३०० जना

डिसी नेपाल
२३ कार्तिक २०७८ १९:१४

पोखरा । दशौँ महाधिवेसनको सँघारमा रहेको नेकपा एमालेले गण्डकी प्रदेश कमिटी र सचिवालय विस्तार गरेको छ । साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतको फैसलाले वैधता नदिएपछि २ जेठ २०७५ मा फर्किएको एमालेले सोही आधारमा रहेर कमिटी विस्तार गरेको हो ।

अब एमालेको गण्डकी कमिटी सदस्य ४०८ पुगेका छन् । यसअघि १०८ सदस्यीय कमिटीमा ३०० जना थपिएको हो । यस्तै, सचिवालय सदस्यसमेत जम्बो बनाइएको छ । पहिलेको १४ सदस्यीय सचिवालय विस्तार गरेर ६७ सदस्यीय बनाइएको छ । सोमबार बसेको प्रदेश कमिटी बैठकले ५३ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।

प्रदेश कमिटीमा सबैभन्दा कम मनाङबाट दुई जना र सबैभन्दा बढी कास्कीबाट ९९ जना थप भएका छन् । यसबाहेक मुस्ताङबाट ११ जना, म्याग्दीबाट १४, बागलुङबाट ४७, पर्वतबाट १५, स्याङ्जाबाट ४६, तनहुँबाट २०, नवलपुरबाट १९, लमजुङबाट नौ र गोरखाबाट १८ जना थपिएका हुन् । एमालेबाट थपिएका दुवै कमिटीमा समानुपातिक सिद्धान्तलाई बेवास्ता गरिएको छ ।

महाधिवेशन प्रतिनिधिमै ३३ प्रतिशत महिला अनिवार्य गरेको एमालेले प्रदेश कमिटीमा सदस्य थप्दा १३ प्रतिशत मात्र महिला उपस्थित गराएको छ भने सचिवालयमा पनि १० प्रतिशत हाराहारी मात्र महिला समेटेको छ ।

अहिले दुवै कमिटी ठूला भए पनि महाधिवेशनपछि हुने प्रदेश अधिवेशनमा भने यो संख्या घट्नेछ । महाधिवेशनबाट १४० जना मात्र निर्वाचित हुनेछन् भने २८ जना मनोनीत हुनेछन् । एमालेको विधानमा आधार सदस्य ५० जना र प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पाँच जनाका दरले निर्वाचिन हुन्छन् ।

गण्डकीमा १८ वटा निर्वाचन क्षेत्र छन् । अधिवेशनपछिको बैठकले १० प्रतिशत पार्टीभित्रबाट मनोनीत गर्नेछ भने १० प्रतिशत अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई सदस्यमा मनोनयन गर्नेछ ।

दशौँ महाधिवेशनमा प्रदेश कमिटीबाट दुई महिलासहित पाँच जना महाधिवेशन प्रतिनिधि प्रदेश कमिटीबाट मनोनीत हुनेछन् । महाधिवेशन भन्दा पनि प्रदेश कमिटीको निर्वाचन लक्षित अहिले सदस्य थप गरिएको बताइएको छ । ‘केन्द्रीय महाधिवेशनमा यसले खासै अर्थ राख्दैन । तर, प्रदेश अधिवेशनका लागि यी सबै सदस्य आयोजक समितिमा रहने अवस्था हुन्छ । उनीहरू भूगोलबाट चुनिनुपर्दैन’, एक नेताले भने, ‘जो भूगोलमा कमजोर छ, उनीहरूलाई मन फुकाएर समेटिएको छ । भोलि उनीहरू स्वतः प्रदेश कमिटीमा रहन सक्छन् ।’

२७ कात्तिकमा महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । गण्डकीका सबैजसो जिल्लामा मतदान अधिकृत खटिएका छन् भने निर्वाचन प्रक्रिया पनि सुरु भइसकेको छ । एमाले विधानअनुसार एक हजार २०० संगठित सदस्य भएको निर्वाचन क्षेत्रबाट दुई महिलासहित पाँच जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् भने त्यसपछि प्रत्येक ८०० संगठित सदस्य थपिँदा एक जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् ।

गण्डकी प्रदेशमा हाल ७८ हजार ९३५ जना संगठित सदस्य छन्, जसमा सबैभन्दा धेरै कास्कीमा १७ हजार ४८६ जना छन् भने सबैभन्दा कम मनाङमा १७९ जना छन् । मुस्ताङमा ५२५ जना, म्याग्दीमा तीन हजार ७३७ जना, बागलुङमा पाँच हजार २०५ जना छन् । यस्तै, तनहुँमा छ हजार १०४ जना, लमजुङमा छ हजार ४३२ जना, पर्वतमा छ हजार ७६०, गोरखामा सात हजार ६४४, नवलपुरमा ११ हजार २१५ र स्याङ्जामा १३ हजार ६४८ जना रहेका प्रदेश कमिटी संयोजक किरण गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशबाट समग्रमा १४६ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । जिल्लागत रूपमा १४१ र प्रदेश कमिटीबाट पाँच जनाले महाधिवेशनमा मतदान गर्न पाउनेछन् । मनाङ र मुस्ताङबाट पाँचरपाँच जना, म्याग्दीमा आठ जना, बागलुङमा १०, तनहुँबाट ११ जना र लमजुङबाट १२ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेछन् । यस्तै, पर्वतबाट १२, गोरखाबाट १४, नवलपुरबाट १८, स्याङ्जाबाट २१ र कास्कीबाट २५ जना महाधिवेशन प्रतिनिधि बन्नेछन् । यद्यपि, क्षेत्रगत हिसाबले यो संख्या तलमाथि हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *