मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

डिसी नेपाल
२५ कार्तिक २०७८ १६:२५

काठमाडौं।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका बर्मझियामा बिहीबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बि३८आर ८१७३ नम्बरको भारतीय मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजुकुमार तिवारीको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका तिवारीलाई उपचारका लागि विराराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का नाम थर खुल्न नसकेको अन्दाजी ३०/३१ वर्षका पुरुषको पनि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले बताए।

यस्तै, सोही बसले पैदलयात्रीलाई समेत ठक्कर दिएको थियो । ठक्करबाट कञ्चनरुप नगरपालिका–१ बर्मझिया बस्ने १९ वर्षका रोहनप्रसाद गुप्ताको दाहिने खुट्टा भाँचिएको छ। उनको विराटनगरमा उपचार भइरहेको छ। बस र मोटरसाइकललाई दुवैलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *