करेन्ट लागेर युवकको मृत्यु

डिसी नेपाल
२५ कार्तिक २०७८ १८:३६

तनहुँ ।तनहुँमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।

बिहान ७ बजे उनी हातमा मोबाइल लिएको अवस्थामा आफ्नै कोठामा अचेत भेटिएको स्थानीय पवन राना मगरले बताए । बिहान ४ बजे उनलाई करेन्ट लागेको आशंका गरिएको छ । त्यो समय गाउँको ट्रान्सफर्मरमा आगलागी भएको थियो । रानाका अनुसार मृतकको दाहिने हातमा मोबाइल थियो । ‘दाहिने हात मोबाइल र चार्जर पनि जलेको छ’, उनले भने । घटनास्थलमै मृत्यु भएको आशंसा गरिए पनि स्थानीयले उनलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याएका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई राहत स्वरूप २५ लाख रुपैयाँ दिनुपर्ने माग छ । स्थानीयवासी, जनप्रतिनिधि र ग्रामीण विद्युतीकरणका पदाधिकारीबिच बिहीबार दिनभर जिपी कोइराला अस्पताल परिसरमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन । विद्युत्तीकरण समितिका सबै पदाधिकारी उपस्थित नहुँदा राहत दिनेबारे टुंगो नलागेको हो । शुक्रबार बिहान फेरी छलफल हुने जनाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *