हेलिकोप्टरमार्फत विद्युत् सामग्री ढुवानी

डिसी नेपाल
२६ कार्तिक २०७८ १६:२५

काठमाडौँ ।विद्युत् आयोजना निर्माणका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–१ मा सडक सञ्जाल, विद्युत्, सञ्चारको सेवाबाट टाढा रहेकाले ४६ किलोवाटको पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणका लागि आवश्यक सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।

भौगोलिक हिसाबले विकट सडक सञ्जालमा नजोडिएको त्यस क्षेत्रमा विद्युत् आयोजना निर्माणका लागि ठूला सामान ढुवानी गर्ने अन्य कुनै माध्यम नभएपछि हेलिकोप्टरमार्फत सामान पुर्‍याइएको हो । केही समयअघि नै बुटवलबाट रुकुमकोटमा आएर थन्किएका ती सामान सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाखाओरालीमा पुर्‍याइएको हो । रुकुमकोटबाट चारवटा पेनस्टक पाइप, तीनवटा ट्रान्सफर्मर हेलिकोप्टरमार्फत सिस्ने पुर्‍याइएको गाउँपालिकाका प्रवक्ता  जीवन केसीले जानकारी दिए ।

उनका अनुसार इएलसी प्यानल, जेनेरेटर, टरवाइन, वेसफ्रेम, एक्पान्सन ज्वाइन्ट, भल्बलगाएत १० हजार किलोग्रामका सामग्री हेलिकोप्टरमार्फत सिस्ने–१ मा पुर्‍याइएको छ । यी सबै सामग्री हेलिकोप्टरले १५ खेपमा सिस्ने फालेको छ । बाँकी रहेको लाइन विस्तारको तार भने देउखोलासम्म गाडीमा लैजाने र त्यहाँबाट मानिस अर्थात् घोडाखच्चडबाट लैजाने गाउँपालिकाका प्रवक्ता केसीले बताए ।

सिस्नेमा पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणको काम आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको थियो । यस आयोजनाको काम गत आर्थिक वर्ष २०७७/७८ मै सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । समयमै काम सम्पन्न गर्न नसकेपछि एक वर्ष म्याद थप गरी काम अगाडि बढाइएको र यसै आर्थिक वर्षभित्र काम सक्ने लक्ष राखिएको प्रवक्ता केसीको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *