लगातार २ पटक विश्वकपको फाइनलमा हारको बदला एकैपटक !

डिसी नेपाल
२८ कार्तिक २०७८ १२:५२

काठमाडौं। टि–२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दैछन् । आज बेलुकी नेपाली समयअनुसार पौने ८ बजे दुबइमा हुने यो खेलमा न्यूजिल्याण्डसँग पहिलो पटक विश्वकपको उपाधि जित्ने मौका छ । न्यूजिल्याण्ड टि–२० विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो । यसअघि २ पटकसम्म एकदिवसीय विश्वकपको फाइनलमा पुगेर पराजित भएको न्यूजिल्याण्डसँग अहिले दुवै हारको बदला एकैपटक लिने मौका छ ।

न्यूजिल्याण्ड २० ओभरको क्रिकेटमा विश्वकपको फाइनलमा पुगेको पहिलो पटक हो । ५० ओभरको एकदिवसीय विश्वकपको फाइनलमा भने न्यूजिल्याण्ड यसअघि लगातार २०१५ र २०१९ मा पुगेको थियो । दुवै फाइनलमा हारेको न्यूजिल्याण्डसँग यसपटक विश्वकपको एउटै संस्करणमा दुवै हारको बदला लिने मौका छ । र, उसले यसअघि सेमिफाइनलमा इङल्याण्डलाई नकआउट गरेर २०१९ को विश्वकप फाइनलमा पराजयको बदला लिइसकेको छ ।

आज फाइनल खेल्दै गर्दा न्यूजिल्याण्डसँग २०१५ को एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग भोगेको पराजयको बदला लिने मौका छ । २०१५ मा ब्रेण्डन म्याकुलमको कप्तानीमा विश्वकपमा उत्रिएको न्यूजिल्याण्डले फाइनल अस्ट्रेलियासँग हारेको थियो । आज न्यूजिल्याण्डले अस्ट्रेलियालाई हराएर त्यो बदला लिन सक्यो भने ऊ कुनै पनि फरम्याटको विश्वकपमा पहिलो पटक च्याम्पियन बन्नेछ ।

हुन त २०१५ को विश्वकपमा समूह चरणमा न्यूजिल्याण्डले अस्ट्रेलियालाई हराएको थियो । तर, फाइनलमा अन्ततः यिनै दुई सह–आयोजक टिम नै परे । र, फाइनलमा अस्ट्रेलियाले जित्यो । अस्ट्रेलिया र न्यूजिल्याण्डले अहिलेसम्म १४ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन् । यीमध्ये ९ खेल अस्ट्रेलियाले जितेको छ भने ५ खेल न्यूजिल्याण्डले जितेको छ । यो विश्वकपमा दुवै टिम सेमिफाइनल पुग्दा आफ्नो समूहमा दोस्रो भएर गएका थिए । सेमिफाइनलमा उनीहरु दुवैले समूहका सबैभन्दा बलिया टिमलाई हराएका थिए ।

टि–२० विश्वकपमा यसअघि २०१६ मा पनि अस्ट्रेलिया र न्यूजिल्याण्डको खेल परेको थियो । यो खेल न्यूजिल्याण्डले जितेको थियो । यही वर्षको फेब्रुअरी मार्चमा पनि दुई देशबीच ५ टि–२० को सिरिज भएको थियो जसमा ३ खेल न्यूजिल्याण्डले जितेको थियो । आजको खेलमा न्यूजिल्याण्डका विकेटकिपर ब्याटर डेभोन कनवे चोटग्रस्त भएकोले खेल्ने छैनन् । उनको ठाउँमा टिम सेफर्ट खेल्ने सम्भावना छ । तर, टिममा पहिल्यै एक विकेटकिपर ग्लेन फिलिप्स भएकोले सेफर्ट नै खेल्छन् भन्ने निश्चित छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *