रुसले मिसाइल हानेर अन्तरिक्षमा रहेको स्याटेलाइट उडाइदियो, अन्तरिक्ष यात्री र स्टारलिंक खतरामा

डिसी नेपाल
३० कार्तिक २०७८ १६:३९

काठमाडौं। रुसले एक एन्टी स्याटेलाइट मिसाइल हानेर आफ्नो एउटा पुरानो स्याटेलाइटलाई अन्तरिक्षमै उडाइदिएको छ । पृथ्वीको तल्लो कक्षमा रहेको यो स्याटेलाइट ध्वस्त भएपछि यसका १५०० भन्दा धेरै टुक्राहरु तीब्र रुपमा अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आइएसएस)तर्फ बढे । यी टुक्राहरुका कारण आइएसएसमा रहेका अन्तरिक्ष यात्रीहरु सोयुज र ड्रेगन क्याप्सुलमा लुके ताकि यदि टुक्राहरुले आइएसएस क्षतिग्रस्त भयो भने उनीहरु क्याप्सुलबाट पृथ्वीमा फर्किन सकुन् । यो घटनापछि धेरै देशहरुले रुसको आलोचना गरिरहेका छन् ।

रुसले १४ नोभेम्बर राती वा १५ नोभेम्बर बिहानमा एन्टी स्याटेलाइट मिसाइल (एस्याट) हानेर आफ्नो स्याटेलाइट कस्मस–१४०८ लाई उडाइदिएको थियो । यो स्याटेलाइटको तौल २ हजार किलो थियो । यसलाई १९८२ मा अन्तरिक्षमा पठाइएको थियो । यो विगत केही वर्षदेखि निष्क्रिय थियो । यसलाई मिसाइल हानेर उडाउँदा यो पृथ्वीबाट ४८५ किलोमिटर टाढा थियो । योभन्दा केही तल रहेर अन्तर्राष्ट्रिय स्पेस स्टेशनले पृथ्वीको परिक्रमा गर्छ ।

अमेरिकाले रुसको यो कदमलाई गलत भन्दै यसको निन्दा गरेको छ । अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले रुसले गरेको यो काम लापरवाहीपूर्ण भनेका छन् । उनले रुसको हर्कतका कारण आइएसएसमा रहेका अन्तरिक्ष यात्रीको जीवन खतरामा परेको बताउँदै रुसको यो टेस्टका कारण करिब १५०० टुक्रा फोहर उत्पन्न भएको र यो सजिलै देख्न सकिने बताए । उनले यो टेस्टबाट सजिलै देख्न नसकिने हजारौं टुक्राहरु पनि अन्तरिक्षमा फैलिएको भन्दै रुसले विश्वभरका देशका स्याटेलाइट र स्पेस स्टेशनको लागि खतरा उत्पन्न गरेको बताए ।

अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा अहिले ७ जना अन्तरिक्ष यात्री छन् । उनीहरुले अन्तरिक्षमा फैलिएका टुक्राको डरले करिब ९० मिनेट क्याप्सुलमा बिताउनु परेको थियो । सात अन्तरिक्ष यात्री मध्ये ४ जना अमेरिकी, २ जना रुसी र १ जना जर्मन हुन् । रुसले २०१४ देखि अहिलेसम्म १० पटक एन्टी स्याटेलाइट मिसाइलको परीक्षण गरेको छ । यसअघि २००७ मा चीनले पनि आफ्नो स्याटेलाइट मिसाइल हानेर उडाएको थियो ।

रुसले जुन उचाइमा यो स्याटेलाइटलाई उडाएको छ त्यो कक्षमा अब नयाँ स्याटेलाइट लञ्च गर्न ठूलो समस्या हुन्छ । रुसले यस्तो गरेपछि एलन मस्कको कम्पनी स्पेसएक्सका १८०० स्टारलिंक स्याटेलाइट खतरामा परेका छन् । यी स्याटेलाइट ५४० देखि ५५० किलोमिटरको उचाइमा रहेर पृथ्वीलाई घुम्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *