बालिकालाई जबर्जस्ती यौन कार्यमा

डिसी नेपाल
१ मंसिर २०७८ २२:०९

काठमाडौं ।काठमाडौँ उपत्यकाका विभिन्न होटलमा बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाउने अवाञ्छित गतिविधि अझै हट्न सकेको छैन ।प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले हालैमात्र यसरी बालिकालाई घरेलु कामदारका रूपमा राखी डर त्रास देखाएर यौन कार्यमा समेत लगाएको तथ्य फेला पारेको छ ।

बालमैत्री शासन, बाल यौन शोषणविरुद्धका विभिन्न अभियान तथा प्रहरी र सामाजिक संस्थाको सक्रियतामा बालबालिकालाई घरेलु कामदारमा लगाउन नहुने भनेर सचेतनामूलक कार्यक्रम गरिए पनि कार्यान्वयन हुन नसकेको उक्त तथ्यले पुष्टि गर्छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित नेवारी खाजा घरमा एक बालिकालाई यसरी यौन कार्यमा लगाएको आरोपमा प्रहरीले गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–४ घर भई ललितपुर बस्ने नेत्रलाल ज्ञवालीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

उनीलगायतका व्यक्तिले ती बालिकालाई गएको वैशाखदेखि बन्धक बनाई धाकधम्की दिएर विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नसमेत लगाउने गरेको खुलेको ब्युरोले जनाएको छ । बालिकालाई उनीहरुले घरसमेत जान नदिई कोठा तथा अन्य गेष्ट हाउसमा पु¥याएर दैनिक तीनदेखि पाँच जनासम्म शारीरिक सम्बन्ध गाँस्न लगाएको प्रहरीको आरोप छ । उनीहरुले होटलमा प्रहरी निरीक्षणमा आउँदा भने हामी आफ्नो स्वेच्छाले होटलमा काम गर्न आएको भन्न लगाउने गरेकोसमेत खुलेको छ । यसरी जबर्जस्तीरूपमा यौन कार्यमा लगाइएकी ती बालिकालाई गत भदौ २५ मा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उद्धार गरेको थियो ।

त्यसपछि प्राप्त जाहेरीका आधारमा अनुसन्धान गर्दा ज्ञवालीलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप तथ्य बुझ्ने कार्य जारी राखिएको प्रहरीले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *