बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा

डिसी नेपाल
२ मंसिर २०७८ १६:३३

काठमाडौं ।नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट नगरपालिका जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।

“हाम्रो बर्दघाट” नाम दिइएको स्थानीय पाठ्यक्रमको आज सार्वजनिक गर्दै बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले चालू शैक्षिक सत्र २०७८ बाटै कक्षा १ देखि ३ सम्म यो पाठ्यक्रम लागू भइसकेको जानकारी दिए। पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक तयार भइरहेकाले केही दिनपछि पाठ्यपुस्तक पनि सार्वजनिक गरिने बताउँदै उनले कक्षा ४ देखि ८ सम्मको भने पाठ्यपुस्तक तयार गरी आगामी वर्षदेखि लागू गरिने बताए।

“स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा, भाषा, रहनसहन, अन्न उत्पादनलगायत बर्दघाटको समग्र क्षेत्र समेटिने गरी नगरको पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको हो”, उनले भने। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न सक्ने व्यवस्था गरेको छ ।

नगर प्रमुख बस्यालका अनुसार पाठ्यक्रममा नगरपालिकाको भौगोलिक, ऐतिहासिक परिचय र नगरपालिकाको संरचना तथा सेवा सुविधा, स्थानीय वातावरणमा पाइने वनस्पति, जडीबुटी, पशुपक्षी, प्रदूषण, फोहरमैला व्यवस्थापन, ऊर्जा, खनिज, जलवायु परिवर्तन, यस क्षेत्रमा रहेका नदीनाला, तालकुण्ड, पहाड र खनिज पदार्थ, स्थानीय क्षेत्रमा हुनसक्ने भूकम्प, बाढीपहिरो, आगजनी, चट्याङ्, हुरीबतास र दुर्घटना, स्थानीयस्तरमा प्रचलित भाषा, चाडपर्व, मेलाजात्रा, धर्मसंस्कृति, रीतिरिवाज, वेषभूषा, जातजाति, परम्परागत सामग्री पुस्तकमा समेटिएको छ ।

यस क्षेत्रमा रहेका मठमन्दिर, गुम्बा, चर्च, मस्जिद तथा अन्य धार्मिक सम्पदा, स्थानीय सामाजिक मूल्यमान्यता, संस्कार र सकरात्मक व्यवहार, स्थानीय क्षेत्रमा प्रचलित परम्परागत पेशा, व्यवसाय, उद्योगधन्दा तथा आयआर्जनका क्रियाकलाप पशुपालन, खेतीपाती, जडीबुटीखेती, हस्तकला, होटल व्यवसाय, उद्योग पर्यटन, स्थानीय क्षेत्रमा परम्परागत रूपमा खेलिने खेल, योग व्यायाम र सन्तुलित भोजनसमेत पाठ्यक्रममा समावेश गरिएको छ ।

बालबालिकाले सानै उमेरदेखि नै आफ्नो जन्मभूमिको समग्र जानकारी लिनदिन पाठ्यक्रमले टेवा पुग्ने बताउँदै नगर उपप्रमुख मायादेवी पौडेलले पाठ्यक्रम लागू गर्न शिक्षकको महत्वपूर्ण भूमिका हुने बताए । आधारभूत तहसम्म स्थानीय विषयवस्तुलाई व्यवहारिक शिक्षाको रूपमा अघि बढाउने र ६ देखि ८ कक्षासम्म स्थानीय पेशा, ज्ञान, सीप र प्रविधिलाई जर्गेना गर्दै सीपमूलक शिक्षा दिने नगरपालिकाको योजना रहेको उनले बताए

नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाइ सुरु गरेको नगर शिक्षा अधिकारी ईन्द्रबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र ३३ सामुदायिक र २३ निजी गरी ५६ विद्यालय रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *