गोदावरी सडकमा खाल्डैखाल्डा

डिसी नेपाल
७ मंसिर २०७८ १७:०९

काठमाडौँ ।ललितपुरको गोदावरीबाट बिहान निस्केका रमेश सिलवाल दिउँसोसम्म कार्यालय पुग्दा धुलाम्मे हुन्छन् । निर्माणाधीन सो सडक हुँदै पाटन पुग्दासम्म वर्षामा हिलो र हिउँदमा धुलाम्मे हुने उनले बताए । अचेल उनी सडकमा हिँड्दा बाहिरबाट बर्षादी लगाएर निस्कन्छन् । उनले भने, “त्यसरी बाहिरको लुगा नफेरे त अफिस पुग्दासम्म मान्छे र लुगा दुबै धुलाम्मे हुन्छ ।”

निर्माण सुरु भएको वषौँ बित्दासमेत हात्तीबन–गोदावरी सडक सम्पन्न भएको छैन । सो सडक सधैँ निर्माणाधीन हुँदा स्थानीयवासीले कष्टकरयात्रा गर्न परिरहेको छ । सडक खाल्डाका कारण हिँडडुल गर्न गाहे भएको स्थानीयवासी बताउछन् । गोदावरी सडकमा भएको खाल्डाखुल्डीका कारण आधा घण्टामा पार गरिने सडकमा हाल एकदेखि डेढघण्टा लाग्ने भएको चालक राम विष्टले बताए ।

झण्डै एक दशकदेखि यही सडकमा बस चलाउँदै आएका उनी सडकको खराब अवस्थाकै कारण जामको समस्याले हैरान छन् । उनले भने, “बाटो धुलो र हिलोले भरिएर हप्तैपिच्छे नधोइ नहुने भएको छ ।”  सो सडकमा भएको धुलोका कारण आफ्ना घरदेखि भान्छा कोठासम्म दैनिक धुलाम्मे हुने गरेको स्थानीयवासी सरिता महर्जनले बताए ।

सडकसँगै भएको उनको घर दिनहुँ धुलोले गर्दा फोहर हुने गर्छ । आफूलाई दिनभर घरमा बसेर सरसफाइ गर्न हैरान हुने र साँझ श्रीमान् र छोराछोरी फर्कदा धुलैधुलो लुगा लिएर फर्कने उनले बताए । उनले भने, “खै हामीले यो धुलोबाट मुक्ति पनि कहिले पाउने होला ?”निर्माण सुरु भएको पाँच वर्ष बित्दासमेत सो सडक अलपत्र छ । निर्माण व्यवसायीले कहिलेकाहीँ उपकरण र जनशक्ति थपेर काम गर्न चाहेको जस्तो देखाए पनि नियमित नहुँदा सम्पन्न नभएको स्थानीयवासीको गुनासो छ ।

स्थानीयवासीले पटक–पटक कहिले सडक विभाग, कहिले गोदावरी नगरपालिका, कहिले आयोजना कार्यालय र कहिले सडक विभागलाई सडक चाँडो सम्पन्न गर्न दबाब दिँदै आएका छन् । सडक निर्माणमा ढिलाइ भएको भन्दै पटक–पटक सडक नै अवरुद्ध गरिए पनि सम्पन्न हुन सकेको छैन । बाँडेगाउँमा सोमबार बिहानैबाट स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए भने दिउँसोबाट हरिसिद्धि सडक पनि अवरुद्ध भएको थियो ।

सडक विभागका प्रतिनिधि र स्थानीयवासीबीच मङ्सिर महिनाभित्र सडक सम्पन्न गर्ने सहमति भएपछि अहिले सडक चालू छ । निर्माण सुरु भएको लामो समयसम्म पनि कालोपत्र नभएर स्थानीयवासीले धुलो र हिलो खप्नुपरेको भन्दै निर्माण व्यवसायी विरुद्ध सडक अवरुद्ध गरेका हुन । निर्माण व्यवसायीले सो खण्ड यही महिनाभित्रमा कालोपत्र सम्पन्न गर्ने भन्दै आएको थियो ।

कामले गति नलिएपछि जनता आक्रोशित भएको गोदावरी नगरपालिका– १४ का वडाध्यक्ष जगनाथ महर्जनले बताए । उनका अनुसार योबीचमा सडक सुधार पनि नहुँदा अवस्था झनझनै खराब भइरहेको छ । गतवर्ष सडकमा माटो र ग्राभेल विच्छाउदा आवागमनमा झन गाहे भएको थियो । उनले भने, “अब कति दिन धुलो, धुवा र हिलोको सामना गर्नुपर्ने हो भन्ने भएरै विरोधमा कार्यक्रम भइरहेको छ ।”

ललितपुर महानरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक सङ्घीय सडकका रुपमा रहेको छ । सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्लो दिनमा केही गतिलिन थालेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताए ।उनका अनुसार आयोजनाले स्थानीयवासीले लामो समयदेखि दुःख पाइरहेकाले जनशक्ति र उपकरण दुबै थप्न कम्पनीलाई भनेको छ ।

पाँचवर्ष पहिले विस्तार सुरु भएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माणअघि बढ्न सकेको थिएन । स्थानीयवासीले घर भत्काउन नदिने भन्दै विरोध गरेपछि निर्माण ठप्प थियो । सुरुका दिनमा निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माणस्थल खाली गर्न सकेको थिएन । तीन वर्ष पहिले नै सर्वोच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो ।

सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो ।त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयवासीसमेत सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो ।

सो सडकमा गोदावरीको साँढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ । बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जनाएको छ । सडकमा कतैकतै पाँच/साढे पाँच मिटरको चौडाइ छ । चौडाइ कम भएका स्थानमा पैदलयात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ । टौखेलदेखि गोदावरी सडक भने गतवर्ष नै निर्माण सम्पन्न भइसकेको छ ।

विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिक पर्छ भने साविक ठैब र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । ७ दशमलव ६ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ ।

ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरुद्ध अरु आयोजना जस्तै छ महिना थपिएको छ । आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्र गर्न निर्माण कम्पनीलाई भनेको छ ।  प्रमुख पाण्डेले भने, “पहिलो एक तहको कालोपत्र अहिले नै गरेमा स्थानीयवासीलाई हिँड्न सजिलो हुन्छ र त्यसपछि अर्को तहको कालोपत्र गर्न सकिन्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *