दुबइमा म्याजिक पेनले लेखिएको चेकको आतंक, रहस्यमय तरिकाले पैसा हराएपछि प्रहरीको चेतावनी

डिसी नेपाल
८ मंसिर २०७८ ८:०९
6.0k
Shares

काठमाडौं। दुबइमा म्याजिक पेनले लेखिएको चेकको आतंक बढेपछि प्रहरीले सर्वसाधारणलाई चेतावनी दिएको छ । प्रहरीले सर्वसाधारणलाई चेकमा रकम र अन्य विवरण अरु कसैले भरिसकेको अवस्थामा ती चेकमा हस्ताक्षर नगर्न भनेको छ किनकि चेकमा विवरण भर्नेहरुले म्याजिक पेन प्रयोग गरेका हुन सक्छन् ।

दुबइ प्रहरीले म्याजिक पेनको ठगीको शिकार भएका २० जनाको केसबारे उल्लेख गर्दै म्याजिक पेन गैरकानुनी भएको बताएको छ । गल्फ न्यूजमा प्रकाशित रिपोर्टअनुसार दुबइमा अहिले प्रयोग भइरहेको म्याजिक पेनमा यस्तो मसी प्रयोग गरिन्छ जुन मसी लेखिएको २० मिनेटदेखि २ घण्टामा आफैं हराएर जान्छ ।

म्याजिक पेनले चेक लेखेर पहिले हस्ताक्षर गराउने र पछि लेखिएका अक्षर हराएपछि फेरि त्यो चेकमा बढी रकम लेखेर खाताबाट धेरै पैसा निकाल्ने गरिएको पाइएको छ । उदाहरणका लागि कसैसँग एक लाख दिराम लिनुपर्ने छ भने उसलाई एक लाख दिरामकै चेकमा हस्ताक्षर गराउने तर पछि अक्षर हराएपछि त्यही चेकमा बढी रकम भरेर उसको खाताबाट धेरै पैसा लिने गरिएको छ ।

२०२० मा थुप्रै म्याजिक पेन ठगीका केसहरुमा अनुसन्धान गरेका दुबइ प्रहरीमा जनरल डिपार्टमेन्ट अफ फरेन्सिक साइन्स एण्ड क्रिमिनोलोजीमा डकुमेन्ट स्क्यान सेक्सनका निर्देशक लेफ्टिनेन्ट कर्नेल डा. अली खलिफा अल फालासीले भने ‘ती चेकहरु कैयौं मिलियन दिरामका थिए । हाम्रा विशेषज्ञले उन्नत प्रविधिको प्रयोगले चेकमा गरिएको फ्रड पत्ता लगाउन सके । मानिसहरुले चेकमा हस्ताक्षर गर्न र अरु विवरण लेख्न आफ्नै पेन प्रयोग गर्नुपर्छ र अरुले लेखेको चेकमा हस्ताक्षर गर्नु हुँदैन ।’

अल फालासीका अनुसार उनीहरुले यस्ता चेकहरु नयाँ प्रविधिको प्रयोग गरेर स्क्यान गर्छन् । यसरी स्क्यान गर्दा निश्चित प्रकारका रेडिएसन प्रयोग गरिन्छ जसले चेक पहिले हराउने मसीले लेखिएको र पछि अर्को कुरा लेखिएको पत्ता लगाउन सक्छ । ‘हामीले त्यो चेकमा पहिले के लेखिएको थियो भन्ने कुरा प्रमाणसहित उपलब्ध गराउँछौं र पीडितले अदालतमा आफ्नो अधिकार दावी गर्न सक्छन्’ उनले भने । यद्यपि उनले जनतामा चेतना फैलाउनुपर्नेतर्फ बढी जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *