यो वर्षभित्रै रेल सञ्चालन हुने यातायात मन्त्री यादवको दाबी

डिसी नेपाल
१४ मंसिर २०७८ १८:४३

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादवले यो वर्षभित्रै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने दाबी गरेकी छन् ।

मंगलबार रेल्वे निरीक्षणको क्रममा जनकपुरधाम स्टेसनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले रेल सञ्चालनको लागि नेपाल र भारत सरकार गम्भीर रहेकोले यो वर्षभित्रै जसरी पनि रेल चल्ने बताइन् । रेल्वे सञ्चालन सम्बन्धी कानुन अन्तिम अवस्थामा रहेको तथा सञ्चालनको लागि चाहिने आवश्यक बजेटको व्यवस्थापन भइसकेकोले अव रेल चलाउन खासै समस्या नहुने मन्त्री यादवले बताइन् । कानुन, बजेट र प्राविधिक त्रुटिको अभावमा रेल सञ्चालनमा ढिलाइ हुन गएको उनले बताइन् ।

‘विगतमा रेल सञ्चालनको लागि पटक-पटक समय तोकिएको थियो,’ उनले भनिन्, ‘तर, सबै फेल हुँदै गयो । त्यसकारण म तपाइहरूसँग झुटो आश्वासन दिन चाहन्न । यो वर्षभित्र नै रेल सञ्चालन हुन्छ । म ग्यारेन्टी दिन्छु ।’

रेल सञ्चालन सम्बन्धी कार्यविधि बनिसकेको र भारतीय केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौताअन्तर्गतको पहिलो किस्ता दिइसकेको उनले बताइन् । कर्मचारी, बजेट र भाँडा दर तोक्न बाँकी रहेको र छिट्टै प्रक्रिया अगाडी बढ्ने उनले बताइन् ।

रेल्वेमा भारत सरकारको सहयोग रहेकोले नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने गरी हामी कार्यक्रम बनाइरहेको मन्त्री यादवले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *