नेपाल भलिबल लिग: काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्स विजयी, सगरमाथाको लगातार दोस्रो जित

डिसी नेपाल
२१ भदौ २०८३ ७:३८

काठमाडौं। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सले सफलता हात पारेका छन्।

शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक पहिलो खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३-२ को कठिन सेटमा पराजित गर्यो। आफ्नो पहिलो खेलमै उत्कृष्ट पुनरागमन गर्दै काठमाडौंले २०-२५, २६-२४, २५-१७, २२-२५ र १६-१४ को जित निकालेको हो। यो हारसँगै दुई खेल खेलेको मधेशको लगातार दोस्रो पराजय बनेको छ। यसअघि मधेश पहिलो खेलमा सगरमाथासँग पराजित भएको थियो। काठमाडौंका अहमद मुस्ताफा खान खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

दिनको दोस्रो खेलमा सगरमाथा स्म्यासर्सले खप्तड फाल्कन्समाथि ३-० को सोझो सेटमा सहज जित दर्ता गर्यो। सगरमाथाले खेल २५-१८, २५-१८ र २५-१९ ले आफ्नो पक्षमा पारेको हो। सगरमाथाको यो लगातार दोस्रो जित हो। यसअघि उसले मधेश वारियर्सलाई ३-१ ले हराएको थियो। सगरमाथाका आइमल खान लगातार दोस्रो खेलमा ‘म्यान अफ द म्याच’ चुनिन सफल भए।

प्रतियोगिताअन्तर्गत आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाडौं रेड्सको सामना गर्नेछ भने दोस्रो खेलमा कर्णाली शिवराज र खप्तड फाल्कन्स आमनेसामने हुनेछन्।

नेपालमै पहिलो पटक आयोजना भइरहेको पुरुष भलिबलको यस फ्रेन्चाइज लिगमा ६ वटा टोली सहभागी छन्। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित यो प्रतियोगिता सिंगल राउन्ड रोविन लिगका आधारमा खेलाइएको छ। लिगको शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

नेपाली भलिबल इतिहासकै सर्वाधिक ३२ लाख रुपैयाँ पुरस्कार राशि रहेको यस लिगको विजेताले नगद २० लाख रुपैयाँ प्राप्त गर्नेछ। मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक रहेको यस प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *