गोदावरी सडकमा कालोपत्रे सुरु

डिसी नेपाल
१७ मंसिर २०७८ १९:४३

काठमाडौँ । निर्माण सुरु भएको झन्डै पाँच वर्षपछि गोदावरी सडक निर्माण अन्तिम चरणमा पुगेको छ । सडकमा आवश्यक संरचना निर्माण सकिएकाले बिहीबारदेखि कालोपत्रे सुरु गरिएको छ ।

सो सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै कालोपत्रे सम्पन्न भइसकेको छ । बाँकी एउटामा बिहीबारदेखि कालोपत्रे सुरु गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । झन्डै चार किमी सडकमा अहिले कालोपत्रे अघि बढाइएको आयोजनाका इन्जिनियर वसन्तकुमार गाइँले बताए। उनका अनुसार हरिसिद्धिको एक ठाउँबाहेक अन्यत्र कालोपत्रे सकिने भएको छ ।

हरिसिद्धिको घुम्तीमा भने तत्काल कालोपत्रे हुनसक्ने अवस्था नरहेको इन्जिनियर गाइँले बताए । सडकको दुवैतर्फ नजिकै घर रहेकाले साँघुरो सडकमा अर्को चरणमा काम गरिने उनले जानकारी दिए । सो खण्डमा कालोपत्रे गर्दा नटिक्ने हुँदा कङ्क्रिट ढलान गर्ने गरी योजना बनाइएको छ । उनले भने, ‘माथिल्लो तहबाट टुङ्गो लागेपछि ठेक्का लगाएर ढलान गर्नुपर्छ ।’

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक सङ्घीय सडकका रुपमा छ । सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्ला दिनमा केही गति लिन थालेको आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताए । उनका अनुसार आयोजनाले स्थानीयवासीले लामो समयदेखि दुःख पाइरहेकाले जनशक्ति र उपकरण दुवै थप्न कम्पनीलाई भनिएको थियो ।

पाँच वर्ष पहिले विस्तार सुरु गरिएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण अघि बढ्न सकेको थिएन । स्थानीयवासीले घर भत्काउन विरोध गरेपछि निर्माण ठप्प थियो । पहिले निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माण स्थल खाली गर्न सकेको थिएन । तीन वर्ष पहिले सर्वोच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो । सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडकमा उपलब्ध चौडाइमा कालोपत्रे गर्ने निर्णय गरेको थियो ।

सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयवासीले सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो ।सो सडकमा गोदावरीको साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ । बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जनाएको छ । चौडाइ कम भएका स्थानमा पैदल यात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ ।

टौखेलदेखि गोदावरीसम्मको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भइसकेको छ । लामो समयदेखि सो सडक अलपत्र हुँदा गोदावरीसँगै बडिखेल, लेले, बिसङ्खुनारायण, गोदामचौरलगायतका स्थानका नागरिक हैरान छन् । वनस्पति उद्यान र प्राकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ । सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठुला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या छ ।

विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविकको ठैव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ ।

ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरुद्ध अरु आयोजनाजस्तै छ महिना थपिएको छ । आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्रे गर्न निर्माण कम्पनीलाई भनेको छ । काठमाडौँ उपत्यकामा पाँचरछ वर्ष पहिले विस्तार सुरु भएका सडकमध्ये अधिकांश अझै सम्पन्न भइसकेका छैनन् । आयोजनाले चैतभन्दा पहिले नै सम्पन्न गर्ने गरी योजना बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *