संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर हतियारधानी व्यक्तिको बबाल
काठमाडौं। न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर एक जना हतियारधानी व्यक्तिले घण्टौंसम्म बबाल मच्चाएका छन् । बबाल यतिसम्म बढ्यो कि राष्ट्रसंघको मुख्य कार्यालयलाई चारैतिरबाट सुरक्षाकर्मीले घेरा हाल्नुपर्यो । केही समयका लागि कार्यालयलाई बन्द नै गरियो । पुलिसले कैयौं घण्टाको प्रयासपछि ती व्यक्तिलाई पक्राउ गरेको छ ।
बिहीबार बिहान राष्ट्रसंघको मुख्यालयबाहिर ती व्यक्तिले बबाल मच्चाउन थालेपछि तत्काल पुलिसलाई सूचित गरिएको थियो । पुलिसले तत्काल फोर्स पठाएर मुख्यालयलाई चारैतिरबाट घेरा हालियो । ती व्यक्तिको हातमा हतियारजस्तै केही देखिएको थियो र उनले लगातार आफ्नो मुखतिर इशारा गरिरहेका थिए । पुलिसका अनुसार त्यो बन्दुकजस्तो देखिएको थियो । स्थितिको गम्भीरताका कारण पुलिसले लगातार ती व्यक्तिसँग कुरा गर्दै आत्मसमर्पण गर्न भनिरह्यो ।
राष्ट्रसंघको कार्यालयभित्र सर्वसाधारण पनि थिए त्यसैले उनीहरुको सुरक्षाको लागि बलियो व्यवस्था गरिएको थियो । सीबीएस न्यूजका अनुसार पहिले भित्र फसेका मानिसहरुलाई एक ठाउँमा जम्मा गरियो त्यसपछि दोस्रो गेटबाट सबैलाई बाहिर निकालियो । त्यसपछि केही घण्टाको लागि मुख्यालयलाई बन्द गरियो । पुलिसका अनुसार ती हतियारधारीले एक पटक पनि सुरक्षा घेरा तोड्ने प्रयास गरेनन् । उनी एउटै ठाउँमा उभिएर हल्ला गरिरहेका थिए ।
करिब ३ घण्टापछि बिहीबार दिउँसो साढे १ बजेतिर पुलिसले ती हतियारधारी व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिविरुद्ध कुन कुन धाराअनुसार मुद्दा दर्ता गरियो भन्ने स्पष्ट छैन । आरोपीको उमेर करिब ६० वर्ष भएको बताइएको छ । सामाजिक संजालमा यी व्यक्तिले राष्ट्रसंघ मुख्यालय परिसरमै काम गर्ने चर्चा छ । अधिकारीहरुले यो कुराको पुष्टि गरेका छैनन् ।







डिसी नेपाल







Facebook Comment