पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जलाएपछि बबाल, भारी संख्यामा सुरक्षाकर्मी परिचालन

डिसी नेपाल
१८ मंसिर २०७८ १०:३८

काठमाडौं। पाकिस्तानको सियालकोटमा शुक्रबार एक श्रीलंकाली नागरिकको निर्ममतापूर्वक हत्या गरिएको छ । त्यसपछि उनको शवलाई जलाइएको छ । पुलिसका अनुसार भीडले ती व्यक्तिमाथि ईशनिन्दाको आरोप लगाउँदै उनलाई कुटेर मारेको थियो । यो क्षेत्रमा स्थिति नियन्त्रणमा लिन भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिलेसम्म यो मामिलामा कुनै मुद्दा भने दर्ता गरिएको छैन ।

घटना सियालकोटको वरिजाबाद रोडको हो । सियालकोटको एक निजी फ्याक्ट्रीमा एक्पोर्ट म्यानेजरको रुपमा काम गर्ने व्यक्तिमाथि आक्रमण गरेर हत्या गरिएको हो । ती व्यक्ति त्यही क्षेत्रमा बस्थे । सियालकोट डिस्ट्रिक्ट पुलिस अफिसर उमर सइद मलिकले श्रीलंकाली नागरिक प्रियंता कुमारा भएको बताएका छन् । सियालकोट पुलिस प्रमुख अर्मागन गंडोलले समाचार एजेन्सी एपीसँग कुरा गर्दै फ्याक्ट्रीका कामदारहरुले म्यानेजरमाथि पैगम्बर मोहम्मदको पोस्टर च्यातेको आरोप लगाएका थिए ।

गोंडालका अनुसार प्रारम्भिक जाँचमा ती व्यक्तिलाई फ्याक्ट्रीभित्र नै कुटपिट गरिएको देखिएको छ । डिपिओ मलिकले भने पुलिसले श्रीलंकाली नागरिकको हत्याको पछाडिको यकिन कारण पत्ता लगाउने कोसिस गरिरहेको बताएका छन् । सामाजिक संजालमा यो घटनाको भिडियो शेयर गरिएको छ । भिडियोमा कैयौं मानिसहरु घटनास्थलमा नाराबाजी गरिरहेका देखिएका छन् । मानिसहरुले लाश जलाएको भिडियो बनाइरहेका देखिन्छन् ।

पाकिस्तानको पंजाब प्रान्तका मुख्यमन्त्री उस्मान बुजदारले एक ट्वीटमा सियालकोटको भयावह घटनाले आफूलाई धक्का लागेको बताएका छन् । उनले आइजी पुलिसलाई घटनाको गम्भीरतासँग जाच गर्न निर्देशन दिएको बताउँदै कसैलाई पनि कानुन हातमा लिने अधिकार नभएको बताएका छन् । उनले यो अमानवीय काममा संलग्नहरुलाई नछोडिने बताएका छन् । पाकिस्तानका मानवअधिकार मन्त्री शिरिन माजरीले यो घटनालाई भयावह र निन्दनीय भनेका छन् । उनले कुनै पनि परिस्थितिमा भीडको हिंसा स्वीकार नगरिने बताउँदै पंजाब सरकारसँग कडा कारवाहीको माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *