अफगानिस्तानमा तालिबानको अप्रत्याशित र ऐतिहासिक घोषणा

डिसी नेपाल
१८ मंसिर २०७८ ११:०७
7.4k
Shares

काठमाडौं। महिलाहरुमाथि हिंसा र प्रतिबन्ध लगाएका कारण विश्वभरीमै बदनाम भएको अफगानिस्तानको सत्तारुढ संगठन तालिबानले अप्रत्याशित र ऐतिहासिक घोषणा गरेको छ । महिलामाथि धेरै प्रतिबन्ध लगाइरहेको यो संगठनले अचानक महिलाहरुको अधिकारको सुरक्षा गर्नेगरी ऐतिहासिक घोषणा गरेको हो । तालिबानले अफगानिस्तानमा महिलाहरुको जबरजस्ती विवाह गराउन प्रतिबन्ध लगाएको छ । तालिबानको यो फैसला उसको १९९६ देखिको शासनकाल यताकै ऐतिहासिक निर्णय मानिएको छ ।

अल जजीराका अनुसार तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अखुंदजादाले यो निर्णयबारे घोषणा गरेका हुन् । गएको अगष्ट १५ मा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि अन्तरिक सरकार गठन गरेको छ तर यो सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । तालिबानले महिलाहरुको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएपनि सो पूरा नगरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएपछि तालिबानले यो कदम चालेको विश्वास गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय मान्यता नपाएका कारण अफगानिस्तानले पाउने सबै सुविधा र आर्थिक सहयोग बन्द भएका छन् ।

सर्वोच्च नेता अखुंदजादाले आफ्नो घोषणामा भनेका छन् ‘महिला र पुरुष दुवै बराबर हुनुपर्छ । कसैले पनि महिलाहरुलाई जबरजस्ती वा दबाबमा बिहे गर्नको लागि बाध्य पार्न पाउँदैन ।’ अफगानिस्तानमा गरिबी र रुढीवादी सोचका कारण महिलाहरुको जबरजस्ती बिहे सामान्य भइसकेको छ । यहाँका कैयौं परिवार चरम गरिबीका कारण आफ्ना बच्चाहरु बेच्न बाध्य भएका छन् । तालिबानले जबसजस्ती विवाहमा प्रतिबन्ध लगाएको छ तर विवाहको न्यूनतम उमेर तोकेको छैन । पहिले बिहेको न्यूनतम उमेर १६ वर्ष तोकिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *