नगरप्रमुख प्रजापतिलाई पुस्तकालय कार्यदलको प्रतिवेदन हस्तान्तरण

डिसी नेपाल
२१ मंसिर २०७८ १८:४६

काठमाडौं।नगरभित्रका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको सुधारका लागि सुझाव पेस गर्न भक्तपुर नगरपालिकाद्वारा गठित कार्यदलले आज नगरप्रमुख सुनिल प्रजापतिसमक्ष प्रतिवेदन पेस गरेको छ । गत असोज १९ गते नगरप्रमुख प्रजापतिको अध्यक्षतामा बसेको बैठकले सो कार्यदल गठन गरेको थियो ।

नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयका पुस्तकालय अधिकृत भूपाल मूलको संयोजकत्वमा गठित कार्यदलले नगरभित्रका ३२ मध्ये २६ वटा पुस्तकालय र वाचनालयको स्थलगत अध्ययन तथा तथ्याङ्क सङ्कलन गरी प्रतिवेदन तयार पारेको नगरप्रमुख प्रजापतिले बताए।

प्रतिवेदनमा पुस्तकालयहरुको सुधारका लागि नगरपालिकाले आर्थिक र भौतिक सहयोग गर्नुपर्ने, प्राथमिक चरणमा भक्तपुर नगरपालिकाबाट प्रकाशित सबै पाठ्यसामग्री र भक्तपुर मासिक, ख्वप पौ, मजदुर र श्रमिकलगायत पत्रिका उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा काम गर्ने जनशक्तिलाई पुस्तकालयसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्नेलगायत ११ वटा सुझाव दिइएको छ ।

प्रतिवेदन ग्रहण गर्दै नगरप्रमुख प्रजापतिले सार्वजनिक पुस्तकालयले देशमा सामाजिक न्याय, सभ्यता र समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका रहने हुँदा सबैले अपनत्व ग्रहण गर्नुपर्ने विचार व्यक्त गरे । उनले पुस्तकालय नागरिकहरुमा चेतना फैलाउने मुख्य आधार भएकाले कार्यदलबाट प्राप्त सुझावका आधारमा नगरमा रहेका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको स्तरोन्नति गर्न भौतिक तथा आर्थिक सहयोग गर्न सकिने कुरा बताए ।

कार्यदलमा रवीन्द्रप्रसाद कुसी, (प्रगति पुस्तकालय), दिनेश खड्गी (लेनिन पुस्तकालय), कृष्णप्रसाद सुवाल (शहीद राजकुमार स्मृति पुस्तकालय), रामकृष्ण मूलगुठी (मङ्गलाछें युवा क्लब तथा पुस्तकालय) सदस्य रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *