भारतीय सेनाप्रमुखलाई पशुपतिनाथको चन्दन, नेपाली ब्राह्मणले गराए अन्तिम संस्कार
काठमाडौं। हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको पार्थिव शरीरलाई अन्तिम संस्कारअघि पशुपतिनाथको चन्दन लेपन गरिएको छ । रावतको शुक्रबार अन्तिम संस्कार गरिएको हो ।
रावतको अन्तिम संस्कारको लागि नेपाली सेनाले समेत तीन स्टार जनरललाई सहभागिताको लागि पठाएको थियो । नेपालबाट तीन स्टार जनरल बालकृष्ण कार्की जनरल रावतको अन्तिम संस्कारका लागि दिल्ली गएका थिए । जनरल कार्कीले जनरल रावतको अन्तिम संस्कारको लागि पशुपतिनाथको चन्दन साथमा लिएर दिल्ली गएका थिए ।
जनरल बिपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिइएकोले उनलाई नेपाली सेनाले यति उच्च सम्मान दिएको हो । नेपाल र भारतबीच एक अर्काका सेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रचलन रहँदै आएको छ । जनरल रावत पहिले भारतको स्थल सेना प्रमुख रहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई २०७३ चैत १६ मा नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिएकी थिइन् ।
![]()
जनरल बिपिन रावतको अन्तिम संस्कार समेत नेपाली पण्डितले गराएका छन् । नेपाली पण्डितले हिन्दू परम्पराअनुसार जनरल रावतको अन्तिम संस्कार गराएका हुन् । उल्लेखनीय कुरा के भने रावत स्वयं भारतीय सेनाको गोर्खाली थिए । जनरल रावत भारतीय सेनामा नेपालीले प्रतिनिधित्व गर्ने गोर्खा राइफल्सकै प्रतिनिधि थिए ।
उत्तराखण्डको गढवालमा जन्मिएका रावत भारतीय सेनामा ११ गोर्खा राइफल्सको पाँचौं बटालियनबाट प्रवेश गरेका थिए । गढवाल त्यो क्षेत्र हो जुन एक समय नेपालको थियो । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानका क्रममा गढवाल नेपालको थियो । पछि नेपाल–अंग्रेज युद्धपछि भएको सुगौली सन्धिमा नेपालले यो भूभाग गुमाएको थियो ।







डिसी नेपाल







Facebook Comment