चितवनमा अवैध नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ

डिसी नेपाल
२८ मंसिर २०७८ ९:२२

भरतपुर । चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरी नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २८ वर्षीय भारतीय नागरिक जितेश वर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अङ्कित शर्मा र भरतपुर–२६ का ३६ वर्षीय सरोज घिमिरे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका दुई भारतीय तथा एक नेपाली गरी तीन जनालाई पक्राउ गरेको बताए।

उनीहरूलाई भरतपुरमा रहेको सिजी ल्याण्डमार्कको फर्न रेसिडेन्सी चितवन होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । होटलमा केही मानिस जम्मा गरेर नेटवर्किङमा लाग्न प्रेरित गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अधिकारीले बताए । उनीहरूलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

उनीहरूले ‘क्यु नेट’ नामक नेटवर्किङ सञ्चालन गरिरहेका थिए । उनीहरूले केही मानिसलाई पहिल्यै सदस्य बनाएर लगानी गर्न लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

कति मानिस सदस्य बने भन्ने कुरा अझै पनि अनुसन्धानकै क्रममा रहेको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ । उनीहरूविरुद्ध ठगीमा परेकाहरुले ठगी मुद्दामा प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन् । ‘क्यु नेट’ दर्ता पनि नगरिएको र यो नितान्त ठग्ने उद्देश्यले आएको प्रारम्भिक अनुसन्धानमा खुलेको अधिकारीले बताए  ।

प्रहरी उपरीक्षक अधिकारीले भने, ‘नेपालमा पिरामिड शैलीमा हुने नेटवर्किङ अवैध छ । त्यसैले नेपालमा यो सञ्चालन गर्न पनि पाइँदैन । सदस्य पनि बन्न पाइँदैन । कोही पनि यो नेटवर्किङमा नलाग्नु हुन म आग्रह गर्दछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *