साउदी राजकुमार इरानप्रति आक्रामक

डिसी नेपाल
२९ मंसिर २०७८ १२:४६
2.0k
Shares

काठमाडौं। साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले मंगलबार रियादमा आयोजित गल्फ समिटमा बोल्दै इरानका ब्यालेस्टिक मिसाइलको साथमा परमाणु कार्यक्रमलाई लिएर प्रभावकारी रणनीति अपनाउनुपर्ने आवश्यकता भएको बताएका छन् । क्राउन प्रिन्सलाई नै साउदीको वास्तविक शासक मानिन्छ र गल्फ कोअपरेशन काउन्सिल अर्थात जीसीसी बैठकमा आफ्नो देशको प्रतिनिधित्व उनैले गरिरहेका थिए ।

जीसीसीका सदस्यहरु साउदी अरब, युएइ, बहराइन, कुवेत, ओमान र कतार छन् । क्राउन प्रिन्सका पिता र साउदी राजा सलमान बैठकमा सहभागी भएनन् । समाचार एजेन्सी एएफपीका अनुसार क्राउन प्रिन्सले इरानको परमाणु कार्यक्रमलाई लिएर प्रभावकारी र गम्भीर रुपमा सोच्नुपर्ने बताए । गत महिना अमेरिका र जीसीसीका देशहरुले इरानमाथि उसको परमाणु नीतिका कारण मध्यपूर्वमा अस्थिरता भइरहेको आरोप लगाएका थिए ।

यी देशहरुले इरानलाई भियना वार्तामा २०१५ को परमाणु सम्झौतालाई बहाल गर्ने अवसर पाएकोमा यसलाई नगुमाउन आग्रह गरेका थिए । २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको परमाणु सम्झौतालाई एकतर्फी रुपमा रद्द गरिदिएका थिए । यो परमाणु सम्झौताका कारण इरानले प्रतिबन्धबाट राहत पाएको थियो । तर, सम्झौताअनुसार इरानले परमाणु कार्यक्रम सीमित गर्नुपर्ने थियो ।

ट्रम्प सरकारले इरानमाथि सम्झौताका कारण प्रतिबन्धबाट बचेको तर परमाणु कार्यक्रम सीमित नगरेको आरोप लगाएको थियो । अमेरिकामा ट्रम्प गएर जो बाइडेन आएपछि परमाणु सम्झौता बहाल गर्न भियनामा बैठक भइरहेको छ तर अहिलेसम्म कुनै समाधान निस्किएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *