‘इमरान खानलाई पैसाकै लोभ थियो भने उनी पूर्वपत्नीसँग सम्बन्धविच्छेदपछि नै अर्बपति हुन्थे’
काठमाडौं। पाकिस्तानका केन्द्रीय सूचना मन्त्री फवाद चौधरीले यदि प्रधानमन्त्री इमरान खानलाई पैसाकै लोभ भएको भए उनी आफ्नी प्रथम पत्नी बेलायती मूलकी जेमिमा गोल्डस्मिथसँग सम्बनधविच्छेदपछि अर्बपति हुन सक्ने बताएका छन् । इमरान खानमाथि उनकै पार्टीका पूर्व नेता, अवकाशप्राप्त न्यायाधीश वजीहुद्दीन अहमदले आफ्नो घरेलु खर्चको लागि पार्टीका नेताहरुबाट पैसा लिएको आरोप लगाएका थिए ।
वजीहुद्दीनले इमरानमाथि अहिले पार्टीबाट अलग भइसकेका नेता जहांगीर खान तरिनबाट आफ्नो घरेलु खर्चको लागि हरेक महिना ५० लाख रुपैयाँ लिने गरेको आरोप लगाएका थिए । उनका संगीन आरोपपछि इमरान सरकारले कडा प्रतिक्रिया जनाउँदै अवकाशप्राप्त न्यायाधीश वजीहुद्दीनमाथि मानहानीको मुद्दा चलाउने घोषणा गरेको छ । यही विषयमा प्रतिक्रिया दिँदै चौधरीले बिहीबार इमरानमा पैसाको लोभ नभएको दावी गरेका हुन् ।
फवाद चोधरीले एक पत्रकार सम्मेलनमा बोल्दै भने यदि इमरान खानलाई पैसाको लोभ थियो भने उनी आफ्नी पूर्वपत्नी जेमिमासँग सम्बन्धविच्छेदपछि अर्बपति हुन्थे किनकि बेलायतको कानुन अनुसार सम्बन्धविच्छेदपछि उनले जेमिमाको सम्पत्तिको आधा पाउँथे । इमरानकी पूर्वपत्नी जेमिमा निकै धनी खानदानकी थिइन् ।
चौधरीले भने ‘यदि इमरान खानलाई यति धेरै पैसाको लोभ हुन्थ्यो, यदि ५०–५० लाख रुपैयाँ महिनामा उनले खर्च गर्नु थियो भने उनी त्यो खानदानको सम्पत्तिमा ५० प्रतिशतका हिस्सेदार थिए । यदि उनले त्यो ५० प्रतिशत हिस्सा लिएको भए आज उनी अर्बपति हुन्थे ।’ इमरान खान कप्तान हुँदा पाकिस्तानले भारतसँग क्रिकेटमा जितेपछि टिमका सबै खेलाडीहरुलाई जग्गा दिइएकोमा इमरानले आफूले दिएको जग्गा शौकत खानम क्यान्सर अस्पताललाई दिएको समेत चौधरीले बताए ।







डिसी नेपाल







Facebook Comment