फोहरको थुप्रोमा ५४ अर्ब रुपैयाँ हरायो, खोज्नका लागि नासाका विज्ञसहित ठूलो टिम परिचालन

डिसी नेपाल
५ पुष २०७८ ११:२५
4.7k
Shares

काठमाडौं। बेलायतका ३६ वर्षका आइटी वर्कर जेम्स हवेल्सले एक हार्ड ड्राइभको खोजी गरिरहेका छन् । यो हार्ड ड्राइभ फेला पार्न सके उनी अर्बपति बन्न सक्छन् । खासमा जेम्सले त्यो हार्ड ड्राइभ २०१३ मा आफ्नो कार्यालयको सफाइ गर्ने क्रममा काम नलाग्ने अरु सामानहरुसँगै फयाँकिदिएका थिए । यो हार्ड ड्राइभमा यस्तो डाटा छ जसको मूल्य करिब ५४ अर्ब रुपैयाँ बराबर छ ।

जेम्सले अब यो हार्ड ड्राइभ खोज्नको लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका डाटा एक्सपर्टसहित ठूलो विज्ञ टिम परिचालन गरेका छन् । जेम्सका अनुसार यो हार्ड ड्राइभमा एक क्रिप्टोग्राफिक ‘प्राइभेट की’ सेभ छ । यो की जेम्ससँग भएको बिटक्वाइनको लागि निकै महत्वपूर्ण छ । अब यदि जेम्सले त्यो हार्ड ड्राइभमा भएको की फेला पार्न सकेनन् भने उनले ३४० मिलियन पाउण्ड अर्थात ५४ अर्ब ४६ करोड रुपैयाँ मूल्यको बिटक्वाइन गुमाउनु पर्नेछ ।

बेलायती अखबार डेलीपोस्टका अनुसार जेम्सले यदि प्रशासनले आफूलाई त्यो हार्ड ड्राइभ फेला पार्न सहयोग गरेमा उनले त्यसबाट आफूले पाउने पैसाको २५ प्रतिशत शहरको कोभिड रिलिफ फण्डमा दिने घोषणा समेत गरेका छन् । यति हुँदाहुँदै पनि अधिकारीहरु उनलाई सहयोग गर्न तयार छैनन् । जेम्सका अनुसार अधिकारीहरुले उनको योजना सुन्दा पनि सुनेनन् र सिधै अस्वीकार गरिदिए ।

न्यूपोर्ट सिटी काउन्सिलले पनि जेम्सले अधिकारीहरुसँग २०१३ देखि नै कैयौं पटक हार्ड ड्राइभ खोज्न सहयोग गर्न आग्रह गरेको पुष्टि गरेको छ । तर, अधिकारीहरुले ल्याण्डफिल साइटको उत्खनन गर्न, फोहर स्टोर गर्न र ट्रिट गर्न निकै महंगो पर्ने र यसले पर्यावरणलाई भारी नोक्सानी हुने बताएका छन् ।

जेम्सले आफ्नो हराएको हार्ड ड्राइभ खोज्नको लागि विश्वभरका इन्जिनियर, पर्यावरणविद र डाटा रिकभरी विशेषज्ञसँग सम्पर्क गरेका छन् । पछि उनले अनट्रयाक कम्पनीको सहयोग लिएका छन् । यो फर्म डाटा रिकभरीको लागि प्रसिद्ध छ । यो फर्म यति प्रसिद्ध छ कि नासाले पनि आफ्ना डाटा रिकभर गर्न यसैको सहयोग लिन्छ ।

अनट्रयाकका अनुसार जेम्सको हार्ड ड्राइभबाट डाटा रिकभर गर्न सकिने सम्भावना ८० देखि ९० प्रतिशत छ तर यो हार्ड ड्राइभ भाँचिएको वा फुटेको हुनु हुँदैन । यस्तोमा जेम्सको लागि आफ्नो बिटक्वाइन फिर्ता पाउने आशा जागेको छ । जेम्सका अनुसार २०१३ मा उनले गल्तीवश यो हार्ड ड्राइभ फोहरमा फ्याँकिदिएका थिए । त्यतिबेलादेखि नै उनले आफ्नो हार्ड ड्राइभ खोजिदिन न्यूपोर्ट सिटी काउन्सिललाई आग्रह गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *