भिडले श्रीलंकालीको हत्या गरेको केही हप्तामै पाकिस्तानमा फेरि ईशनिन्दाको अर्को घटना

डिसी नेपाल
६ पुष २०७८ १०:४४
932
Shares

काठमाडौं। केही हप्ताअघि पाकिस्तानको सियालकोटमा ईशनिन्दाको आरोपमा भिडले एक श्रीलंकाली नागरिकको हत्या गरेको घटनाको एक महिना बित्न नपाउँदै पाकिस्तानमै फेरि अर्को घटना भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराचीको नारायणपुरामा एक व्यक्तिले मन्दिरमा तोडफोड गरेका छन् । त्यसपछि स्थानीयले ती व्यक्तिलाई समातेर पुलिसको जिम्मा लगाएका छन् ।

सोमबार बेलुकी भएको घटनाको एफआइआर इदगाह थानामा मुकेश कुमार नामका व्यक्तिको उजुरीमा दर्ता गरिएको छ । एफआइआरमा मुकेश कुमारले उल्लेख गरेअनुसार उनकी पत्नी जोग माया मन्दिरमा पुजा गर्न जाँदा करिब सवा ८ बजे एक व्यक्ति हथौडा लिएर आए र त्यहाँ राखिएको जोग मायाको मूर्तिमाथि हथौडा हान्न सुरु गरे । यो देखेर उनकी पत्नीले हल्ला गरिन् त्यसपछि स्थानीयले ती व्यक्तिलाई मूर्तिमा हथौडा हानिरहेको अवस्थामा समाते ।

पुलिसले ती व्यक्तिविरुद्ध ईशनिन्दाको मुद्दा दर्ता गरेको छ । एसएसपी सिटी मजहर नवाजका अनुसार स्थानीयले ती व्यक्तिमाथि पनि हिंसा गर्न खोजेका थिए तर समयमै पुलिस पुगेकाले यसअघि श्रीलंकाली नागरिकको हत्या भएको जस्तो घटना हुन पाएन । कराचीमा बीबीसी संवाददाता निगार रियाज सुहैलका अनुसार स्थानीय मानिसहरु घर भत्काउन प्रयोग गरिने ठूलो हथौडा लिएर आएका थिए र उनीहरुले प्रदर्शन पनि गरे ।

२५ वर्षका आरोपीको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा मानिसहरुले उनलाई यस्तो किन गरेको भनेर सोधिरहेका छन् । पुलिसका अनुसार यी युवा बेरोजगार छन् । उनको मानसिक अवस्था पनि ठिक छैन । उनले आफू ‘खुदाको मिशनमा’ भएको बताएका छन् । पाकिस्तानमा हिन्दू मन्दिरमाथि भएको यो पहिलो हमला होइन । यसअघि पनि गत वर्षको नोभेम्बरमा कराचीको ली मार्केटमा शीतलदास कम्पाउण्डमाबनेको एक मन्दिरमा कुही मानिसहरुले हमला गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *