कार्टुनभित्र बेवारिसे अवस्थामा राखिएको थियो २ करोड नगद, १ वर्षसम्म कसैले देखेनन्
काठमाडौं। अमेरिकाको न्यूयोर्कस्थित सिटी कलेजका प्रोफेसर डा. विनोद मेनन् त्यतिबेला चकित परे जब उनले आफ्नो अफिसमा नगदले भरिएको एउटा कार्टुन फेला पारे । यो कार्टुनभित्र १ लाख ८० हजार डलर नगद (२ करोड १७ लाख रुपैयाँ) थियो । यो सबै पैसा एक गुमनाम व्यक्तिले पठाएका थिए ।
यी व्यक्तिले कुनै समय यही कलेजमा पढेका थिए । नगदको साथमा उनले एउटा नोट पनि लेखेर राखेका थिए जसमा उनले यो रकम किन र कसलाई पठाइएको हो भन्ने लेखिएको थियो । सीएनएनका अनुसार गत महिना प्रोफेसर मेननले आफ्नो अफिसमा नगद भरिएको कार्टुन फेला पारेका थिए यसमा २ करोडभन्दा धेरै नगद थियो ।
यो कार्टुन नोभेम्बर २०२० मा प्रोफेसरको अफिसमा पठाइएको थियो । तर, कोरोनाका कारण कलेज बन्द थियो त्यसैले कसैले पनि यसलाई राम्रोसँग हेरेनन् । करोडौं नगद भएको यो कार्टुन करिब १ वर्षसम्म त्यत्तिकै बेवारिसे अवस्थामा रह्यो ।

प्रोफेसर मेननले कार्टुनभित्र एउटा नोट फेला पारे । कार्टुनमा डेलिभरी ठेगाना प्रोफेसर मेननको अफिस नै लेखिएको थियो अर्थात यो पैसा उनलाई नै पठाइएको थियो । नोटमा यो पैसा पठाउने व्यक्तिले प्रोफेसर मेननसँग शिक्षा लिएको र उनी कुनै बेला यो कलेजको विद्यार्थी रहेको लेखिएको थियो । ती व्यक्तिले नोटमा आफूले जसरी कलेजबाट राम्रो शिक्षा लिउका थिए अरुले पनि लिन सकुन् भनेर कलेजलाई सहयोग स्वरुप यो पैसा पठाएका थिए ।
पैसा पठाउने विद्यार्थीले यो कलेजबाट भौतिकशास्त्र र गणितमा स्नातकको शिक्षा लिएका थिए त्यसपछि भौतिकशास्त्रमा स्नातकोत्तर गरेका थिए । पछि उनले भौतिकशास्त्रमै दोहोरो पिएचडी पनि गरेका थिए । उनले नोटमा यो पैसाको उपयोग विद्यार्थीहरुलाई भौतिकशास्त्र र गणितको अध्ययनमा सहयोगको लागि गरियोस् भनेर लेखेका थिए । पढाइका लागि आर्थिक अभाव भएका विद्यार्थीलाई यो पैसाबाट सहयोग गर्न उनले भनेका थिए ।
प्रोफेसर मेननले भने ‘यति धेरै पैसा देखेर झट्का लाग्यो । नोट पढेर मलाई वास्तवमा यो संस्थानसँग जोडिएकोमा गर्व र खुसी लाग्यो जसले वास्तवमा ती विद्यार्थीको जीवन परिवर्तन गरिदियो ।’ मेननले समाचार एजेन्सीसँग भने ‘मैले वास्तविक जीवनमा यति पैसा नगदको रुपमा कहिल्यै देखेको थिइन । मैले यो फिल्ममा देखेको थिएँ त्यसैले म आश्चर्यचकित थिएँ र मलाई थाहा थिएन कि कसरी प्रतिक्रिया दिउँ ।’







डिसी नेपाल







Facebook Comment